भजनसंग्रह 41:5-9
भजनसंग्रह 41:5-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा शत्रुहरू द्वेषसाथ यसो भन्छन्, “त्यो कहिले मर्ला, र त्यसको नाउँनिशानै मेटिएला?” जब मलाई हेर्न कोही आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ। मलाई घृणा गर्नेहरू सबै जम्मा भएर मेरो विरुद्धमा कानेखुसी गर्छन्, मेरो विरुद्धमा तिनीहरू यसो भन्दै मेरो अनिष्ट चिताउँछन्: “त्यसलाई घातक रोगले पक्रेको छ, त्यो जहाँ पस्रेको छ त्यहाँबाट उठ्नेछैन।” मैले भरोसा गरेको मेरो परममित्रसमेत, जसले मेरै रोटी खान्थ्यो, त्यसले मेरो विरुद्धमा लात उठाएको छ।
भजनसंग्रह 41:5-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्, “त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?” जब तीमध्ये कोही मलाई भेट्न आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ; तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ। मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्; तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्, “त्यसलाई घातक रोग लागेको छ; त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।” मेरो घनिष्ठ मित्रले, जसलाई मैले भरोसा गरेँ, जसले मेरै भोजन खान्थ्यो, त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ।
भजनसंग्रह 41:5-9 पवित्र बाइबल (NERV)
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे। तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?” मानिसहरू मलाई हेर्न आउँछन्। तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्। तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्, अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्। मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्। तिनीहरूले मेरो विरूद्ध षड्यन्त्रहरू गरिरहेछन्। तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो त्यसैले गर्दा ऊ बिमारी भयो। हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।” मेरो प्रिय साथीले मसँगै खायो, जसलाई म भरोसा गर्थें। तर अहिले, ऊ मेरो बिरोधी भएकोछ।
भजनसंग्रह 41:5-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा शत्रुहरूले मेरा बारेमा नराम्रा कुरा भन्छन्, तिनीहरू म मरेको र सबैले मलाई भुलेको चाहन्छन्। मलाई हेर्न आउनेहरू राम्रा मनले आउँदैनन्; तिनीहरूले मेरो बारेमा दुष्ट कुराहरू बटुल्छन्, बाहिर गएर जहाँतहीं ती कुराहरू भनिहिँड्छन्। मलाई घृणा गर्नेहरू सबैले मेरो बारेमा आपसमा कानेखुसी गर्छन् र सबैभन्दा नराम्रो कुरा सोच्छन्। तिनीहरू भन्छन्, “त्यसलाई मर्ने रोग लागेको छ, त्यसले फेरि ओछ्यान छोड्न सक्नेछैन।” मैले अत्यन्तै विश्वास गरेको मसँग एकैसाथ खाने, मेरो सबैभन्दा उत्तम साथी पनि मेरो विरुद्धमा उठेको छ।