भजनसंग्रह 18:37-50

भजनसंग्रह 18:37-50 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरा शत्रुहरूलाई खेदेर मैले तिनीहरूलाई भेट्टाएँ, तिनीहरू संहार नहोउञ्‍जेल म फर्किनँ। तिनीहरू उठ्‌न नसक्‍ने गरी मैले तिनीहरूलाई हिर्काएँ, तिनीहरू मेरा पाउमुनि लोटे। तपाईंले मलाई लड़ाइँको निम्‍ति शक्तिशाली तुल्‍याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो। तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्‍न विवश पार्नुभयो, र मेरा शत्रुहरूलाई मैले संहार पारें। मदतको निम्‍ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। बतासमा उड्‌ने धूलोजस्‍तो मैले तिनीहरूलाई धूलोपीठो पारें, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई फालें। मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुटाउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता बनाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्‌। मेरो आदेश सुन्‍ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्‌, विदेशीहरू मेरो अगि निहुरिन्‍छन्‌। विदेशीहरू डरले शिथिल हुन्‍छन्‌, तिनीहरू आ-आफ्‍ना किल्‍लाहरूबाट डरले काम्‍दै निस्‍कन्‍छन्‌। परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो चट्टानको स्‍तुति-प्रशंसा होस्‌। मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌। उहाँ परमेश्‍वर हुनुहुन्‍छ, जसले मेरो बदला लिनुहुन्‍छ, उहाँले नै मानिसहरूलाई मेरो वशमा पारिदिनुहुन्‍छ, उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्‍छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्‍च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो। यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु। उहाँले आफ्‍ना राजालाई महान्‌ विजय दिनुहुन्‍छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्‍नो अचूक करुणा देखाउनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:37-50 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मेरा शत्रुहरूलाई मैले खेदेर भेट्टाएँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ। मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे। तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ। तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ। तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन। मैले तिनीहरूलाई बतासले उडाइलैजाने धुलोझैँ धुलोपिठो पारेँ; मैले तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चिएँ। तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्। विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्‍नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्। तिनीहरूको सारा साहस हराउँछन्; तिनीहरूका किल्‍लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्। याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्‍वर, मेरा मुक्तिदाता, उच्‍च होऊन्! उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्‍च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ। यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु। उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम देखाउनुहुन्छ, दावीद र तिनका वंशहरूलाई सदासर्वदा।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:37-50 पवित्र बाइबल (NERV)

त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन! म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्। सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्। हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो, युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो। तपाईंले मलाई मेरा शत्रुहरूका घिंच्रोमा हिर्काउने र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो। मेरा शत्रुहरूले सहयोगको लागि गुहारे, तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन। तिनीहरूले परमप्रभुलाई समेत गुहारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें। तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए। मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ। मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन्। मलाई जातिहरूका अगुवा बनाउनु होस्। मलाई नचिन्ने मानिसहरूले पनि मेरो सेवा गरून्। ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्। ती विदेशीहरू मदेखि भयभित हुनेछन्। ती विदेशीहरू डरले काम्नेछन्। तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्। परमप्रभु जीवित हुनुहुन्छ, म मेरो चट्टानलाई प्रशंसा गर्छु। किनभने उहाँ महान् हुनुहुन्छ! मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो। उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो। हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए, तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो। मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो। हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु। यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु। परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ! उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ। उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:37-50 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म शत्रुलाई खेदेर पक्रन्‍छु, तिनीहरूलाई नाश नपारुञ्‍जेलसम्‍म म थामिन्‍नँ। म तिनीहरूलाई तरवारले हान्‍छु र तिनीहरू उठ्‍न सक्‍दैनन्। मेरा सामु तिनीहरू हारेर लडेका छन्। तपाईंले मलाई युद्ध गर्ने शक्ति र शत्रुहरूमाथि विजय दिनुहुन्‍छ। मेरा शत्रुहरूलाई मेरो सामुदेखि तपाईंले भगाउनुहुन्‍छ, मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु। तिनीहरू मद्दतको लागि चिच्‍याउँछन्, तर कसैले तिनीहरूलाई बचाउँदैनन्, तिनीहरूले परमप्रभुलाई पुकार्छन्, तर उहाँले उत्तर दिनुहुन्‍न। म तिनीहरूलाई चुर पार्दछु र तिनीहरू बतासले उडाइलैजाने धुलाजस्‍ता हुन्‍छन्, म तिनीहरूलाई बाटोको हिलोझैँ कुल्‍चन्‍छु। तपाईंले मलाई विद्रोहीहरूदेखि बचाएर जाति-जातिहरूमाथि राजा बनाउनुभयो, मैले नचिनेका मानिसहरू मेरा प्रजा बनेका छन्। विदेशीहरू मेरा अघि निहुरिन्‍छन्, मेरा वचन सुन्‍छन् र पालन गर्छन्। साहस हराएर तिनीहरू आफ्‍ना गढीहरूदेखि काम्‍दै निस्‍कन्‍छन्। परमप्रभु जीवित हुनुहुन्‍छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने परमेश्‍वरको महान्‌ताको बारेमा सबैलाई भन। उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ, उहाँले जाति-जातिलाई मेरा अधीनमा पार्नुहुन्‍छ, र मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्‍छ। हे परमप्रभु! तपाईंले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ र हिँसा गर्ने मानिसबाट मेरो रक्षा गर्नुहुन्‍छ। यसैले म जातिहरूका बीचमा तपाईंको प्रशंसा गर्छु, म तपाईंको स्‍तुति गाउँछु। परमेश्‍वरले आफ्‍ना राजाहरूलाई ठूल्‍ठूला विजय दिनुहुन्‍छ, आफूले चुनेको मानिसलाई उहाँले अनन्‍त प्रेम गर्नुहुन्‍छ, उहाँले दाऊद र उसका सन्‍तानलाई सदासर्वदा प्रेम गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्