हितोपदेश 17:17-22
हितोपदेश 17:17-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्मेको हुन्छ। समझ नभएको मानिस वाचाबन्धन गर्छ, र आफ्नो छिमेकीको जमानी बस्छ। कलह रुचाउनेले पाप रुचाउँछ। अग्लो द्वार बनाउनेले सत्यनाश निम्त्याउँछ। कुटिल हृदय भएको मानिसलाई पुगीसरी आउँदैन। जसको जिब्रो छली छ, त्यो सङ्कष्टमा जाकिन्छ। छोरा मूर्ख भइदिनाले अफसोस ल्याउँछ, मूर्खको बुबालाई सुख भने हुँदैन। प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।
हितोपदेश 17:17-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मित्रले सबै समय प्रेम गर्छ, र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्। विवेकहीन मानिसले भाकल गर्छ, र आफ्नो छिमेकीको जमानी बस्छ। झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ। भ्रष्ट हृदय भएको मानिसको उन्नति हुँदैन; जसको जिब्रो छली छ, त्यो सङ्कष्टमा पर्छ। मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्, मूर्खको बुबालाई खुशी मिल्दैन। प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
हितोपदेश 17:17-22 पवित्र बाइबल (NERV)
असल मित्रले सधैँ माया गरिरहेको हुन्छ। त्यसरी नै साँच्चो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ। समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ। लडाईं-झगडा़ मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ। कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफैं सत्यनाश हुन्छ। मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन। आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।
हितोपदेश 17:17-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मित्रले सधैँ प्रेम देखाउँदछ, दाजुभाइचाहिँ दु:खमा साथ दिने हुन्छन्। बेहोशी मानिस मात्र अर्काको ऋणको जमानी बस्दछ। झगडा रुचाउनु र पाप रुचाउनु एउटै हो, सधैँ धाक लगाउने मानिसले आफ्नै खति गर्छ। दुष्ट सोच र छली बोली गर्नेले भलाइको आशा नगरे हुन्छ, त्यसलाई विनाश मात्र छ। मूर्ख छोरोको कामबाट बुबालाई शोक र सन्ताप मात्र हुँदछ। प्रसन्न चित्त हुनु नै असल औषधी हो। सधैँ उदासी मनले बिस्तारै मृत्यु ल्याउँदछ।