हितोपदेश 16:21-33
हितोपदेश 16:21-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्। समझदारी हुनेको निम्ति त्यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्ड ल्याउँछ। बुद्धिमान्को हृदयले आफ्नो मुख सम्हाल्छ, र त्यसका ओठले शिक्षा बढ़ाउँछन्। मीठा वचनहरू महका चाकाहरूजस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ, र हड्डीहरू निको पार्छ। कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लाउँछ, त्यसको भोकले त्यसलाई कजाउँछ। बदमाशले खराबी रच्दछ, अनि त्यसको बोलीवचन प्रखर आगोझैँ हुन्छ। कुटिल मतिको मानिसले विवाद उत्पन्न गराउँछ, र कुरौटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ। उपद्रवी मानिसले आफ्नो छिमेकीलाई फसाउँछ, र त्यसले उसलाई खराब बाटोतिर लैजान्छ। आफ्नो आँखा झिम्क्याउनेले षड्यन्त्र रचेको हुन्छ, आफ्ना ओठ लेब्र्याउनेको स्वभाव खराब हुन्छ। फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ। मानिस धैर्यवान् हुनु लड़ाका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो। सप्कोमा चिट्ठा त हालिन्छ, तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ।
हितोपदेश 16:21-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्। समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो, तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ। बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ, र त्यसका ओठले अर्तीलाई बढाउँछ। मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्, जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ। कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। परिश्रमीको पेटले त्यसलाई काम गर्न लगाउँछ; त्यसको भोकले त्यसलाई काम गर्न लगाउँछ। बदमासले दुष्ट युक्ति रच्दछ; र त्यसका बोलीवचन भतभती पोल्ने आगोजस्तै हुन्छ। भ्रष्ट मानिसले विवाद उत्पन्न गराउँछ, र कुराउटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ। उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ। आफ्नो आँखा झिम्काउनेले षड्यन्त्र रचेको हुन्छ; आफ्ना ओठ लेब्र्याउनेले षड्यन्त्र रचेको हुन्छ। फूलेको केश शोभाको मुकुट हो, यो धर्मी जीवनबाट प्राप्त हुँदछ। धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो। चिट्ठा त हालिन्छ, तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ।
हितोपदेश 16:21-33 पवित्र बाइबल (NERV)
ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउँछ। तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ। बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओंठले शिक्षा बढाउँछन्। आनन्द दायक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ। कहिले काही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ। परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्। एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ। एकजना झगडा़लु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाईँ गराउँछ। एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ। जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ। फूलेको केश ईमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ। मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो शहर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो। चिट्ठा, मानिसहरूद्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।
हितोपदेश 16:21-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ज्ञानी र पाको मानिसलाई उसको समझशक्तिले चिनाउँछ। उसको बोली जति मीठो हुन्छ, उति उसले मानिसको मन जित्दछ। बुद्धिमान्को बुद्धि जीवनको मूल हो तर मूर्खलाई ज्ञान दिनु समय बरबाद गर्नु हो। बुद्धिमान् मानिसले सोचेर मात्र बोल्दछ र उसको बोलीले सुन्नेको मन जित्दछ। दयालु बोली महजस्तो, मनलाई खुसी पार्ने र स्वास्थ्य दिने हुन्छ। कुनै बाटो तिमीलाई ठीकै छ भन्ने लाग्ला तर अन्तमा त्यसले मृत्युमा पुर्याउन सक्छ। परिश्रमीको पेटले त्यसलाई झन् परिश्रमी बनाउँदछ किनभने त्यसले आफ्नो पेटको भोक मेट्न चाहन्छ। दुष्टहरूले अर्काको खति गर्ने उपाय खोजिहिँड्छन्। तिनीहरूका बोलीमा पनि दुष्ट्याइँको आगो हुन्छ। दुष्टहरूले बेकामका कुरा काट्दै हिँड्छन्। तिनीहरूले झगडा गराएर साथीहरूका बीचमा फाटो ल्याउँछन्। हिँसा गर्ने मानिसले आफ्नै साथीभाइसित छलकपट गर्छ र तिनीहरूको विनाश गराउँछ। कसैले तिमीलाई हेरेर ङिच्च हाँस्यो, आँखा झिम्क्यायो भने होशियार होऊ, त्यसका मनमा केही दुष्ट विचार उठेको हुन्छ। धार्मिकताको फल लामो आयु हो, फुलेको केश शोभाको मुकुट हो। सहर जित्नुभन्दा बरु आफूलाई वशमा राख्नु उत्तम हो। मानिसले चिट्ठा हालेर परमेश्वरको इच्छा बुझ्न त खोज्छ तर उत्तर दिने त परमेश्वर आफैं हुनुहुन्छ।