हितोपदेश 14:1-12

हितोपदेश 14:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बुद्धिमान्‌ स्‍त्रीले आफ्‍नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्‍त्रीले आफ्‍नै हातले आफ्‍नो घर भत्‍काउँछे। ईमानसँग हिँड्‌नेले परमप्रभुको भय मान्‍छ, तर कुटिल मार्गमा हिँड्‌नेले उहाँलाई तुच्‍छ ठान्‍छ। मूर्खको बोलीले आफ्‍नै पीठमाथि लाठो ल्‍याउँछ, तर बुद्धिमान्‌का ओठले त्‍यसको सुरक्षा गर्छन्‌। जहाँ गोरुहरू छैनन्, त्‍यहाँ भकारी खाली रहन्‍छ, तर गोरुको बलले प्रशस्‍त फसल कटनी हुन्‍छ। साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ। खिल्‍ली उड़ाउने व्‍यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्‍यक्तिलाई ज्ञान सजिलैसित आउँछ। मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्‍यसका ओठमा ज्ञानको कुरो पाइँदैन। समझदार मानिसको बुद्धिले त्‍यसलाई सही बाटो दिन्‍छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो। पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्‍ली उड़ाउँछ, तर ईमानसँग चल्‍नेहरूका माझमा सद्‌भाव पाइन्‍छ। मनको तीतोपन मनले नै जान्‍दछ, र त्‍यसको आनन्‍द अरू कसैले भोग गर्न सक्‍दैन। दुष्‍टको घर भत्‍काइनेछ, तर ईमानदारको पालमा फलिफाप हुनेछ। कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्

हितोपदेश 14:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे। याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्‍नेहरू कुमार्गमा हिँड्छन्। मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; तर बुद्धिमान्‌को ओठले तिनीहरूलाई बचाउँछ। जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ। साँचो साक्षीले धोका दिँदैन; तर झूटो साक्षीले असत्य कुराहरू पोख्छ। गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्‍त गर्छ। मूर्ख मानिसबाट टाढै बस, किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन। विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो। दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; तर धर्मीहरूमा भने सद्भावना पाइन्छ। प्रत्येक मनको तितोपनाले नै जान्दछ; र कोही त्यसको आनन्दको सहभागी हुन सक्दैन। दुष्‍टको घर भत्काइनेछ; तर धर्मीको पालमा फलिफाप हुनेछ। कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्

हितोपदेश 14:1-12 पवित्र बाइबल (NERV)

बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे। जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ। मूर्खको कुराले उसकै ढाडमा लट्ठी बज्राउँछ, तर बुद्धिमानको कुराले उसलाई सुरक्षा गर्छ। जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ। एकजना साँच्चो गवाहीले साँच्चो बोल्छ, तर झूटो गवाहीले सधैँ झूटो नै बोलिरहन्छ। एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ। मूर्खको संगतबाट तिमी सधैँ टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ। ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ। पाप निवारण गर्ने विचारमा मूर्ख मानिस हाँस्छ, तर त्यहाँ इमानदारी मानिसहरूको बीचमा सद्भाव पाइन्छ। यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ। एक दुष्ट मानिसको घर ध्वंश हुनेछ, तर इमानदार मानिसको घर फलिफाप हुनेछ। त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्

हितोपदेश 14:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बुद्धिमती स्‍त्रीले आफ्‍नो घर बनाउँछे तर निबुर्द्धि स्‍त्रीले त्‍यसलाई आफ्‍नै हातले भत्‍काउँछे। इमानदार मानिसले परमप्रभुको भय मान्‍दछ, बेइमानीले उहाँको तिरस्‍कार गर्दछ। मूर्खले घमण्‍डी भई ज्‍यादा बोल्‍दछ तर बुद्धिमान् मानिसको वचनले तिनीहरूको रक्षा गर्छ। खेत-बारी जोत्‍नलाई गोरुहरू नभए भकारी खाली रहन्‍छ। तर हलो जोत्‍ने गोरुहरू भए त्‍यहाँ पूरा अन्‍न हुन्‍छ। साँचो साक्षीले छल गर्दैन तर झूटा साक्षीले झूटा कुराहरू फैलाउँछ। अहङ्कारी कहिल्‍यै बुद्धिमान् बन्‍न सक्‍दैन तर समझदार मानिसले चाँडै सिक्‍छ। मूर्खबाट टाढा बस्, त्‍यसले केही कुराको ज्ञान दिन सक्‍दैन। चतुर मानिस कसरी बुद्धिमान् हुन्‍छ? किनभने उसले आफ्‍नो कर्तव्‍य जान्‍दछ। मूर्ख कसरी बुद्धु हुन्‍छ? किनभने त्‍यसले जान्‍दछ भनी विचार मात्र गर्छ। मूर्खहरूले आफूले पाप गरेको वास्‍ता राख्‍दैनन् तर असल मानिसहरूले क्षमा पाउने चाहना गर्छन्। तिमी हाँस्‍दा एक्‍लै हाँस्‍छौ, तिमी रुँदा पनि एक्‍लै रुन्‍छौ। कसैले तिम्रो हाँसो र आँसुमा साथ दिँदैन। दुष्‍टको घर भत्‍केर जान्‍छ तर धर्मीको घर खडै रहन्‍छ। जुन बाटो ठीक छ भनी तिमी सोच्‍दछौ, त्‍यसले तिमीलाई मृत्‍युमा पुर्‍याउला।

शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्