फिलिप्पी 3:12-21

फिलिप्पी 3:12-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मैले यी सबै अघिबाटै प्राप्‍त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्‍ति म अघि बढ़िरहेको छु जुन कुराको निम्‍ति ख्रीष्‍टले मलाई पक्रनुभयो! भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्‍कारको निम्‍ति निशानातिर म जोड़सँग अगि बढ्‌दछु। हामी परिपक्‍व हुनेहरूचाहिँ सबै यस्‍तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्‍वरले तिमीहरूलाई त्‍यो पनि प्रकट गरिदिनुहुनेछ। केवल हामीले जे प्राप्‍त गरिसकेका छौं, त्‍यसमा दह्रिला भइबसौं। भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर। मैले धेरै पल्‍ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्‍दछु कि तिनीहरू ख्रीष्‍टका क्रूसका शत्रुहरूजस्‍तै जीवन बिताउँछन्‌। विनाश तिनीहरूको अन्‍त्‍य हो, पेट तिनीहरूको ईश्‍वर हो, र तिनीहरू आफ्‍ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्‍छ। तर हाम्रो नागरिकता स्‍वर्गमा छ। त्‍यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात्‌ प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा हामी गर्दछौं। उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्‍याउन सक्‍नुहुन्‍छ, हाम्रा हीन शरीरलाई आफ्‍नै महिमाको शरीरजस्‍तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:12-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु; म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ। यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ। हामीले जे जति प्राप्‍त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ। दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक। किनकि मैले तिमीहरूलाई धेरै पल्ट भनेको छु; अनि अहिले फेरि पनि आँसुको साथ भन्दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जीवन जिउँछन्। तिनीहरूको अन्त्य विनाश हो; तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूको गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूको मन सांसारिक कुराहरूमा लागेको छ। तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्‍टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:12-21 पवित्र बाइबल (NERV)

परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो। दाज्यू-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सधैँ गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु। लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिनैरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाइएको छु। हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ। तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्। धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु। तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैंलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्। तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ। उहाँले हाम्रो दुर्बल शरीर बद्ली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:12-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्‍दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्‍ट येशूले मलाई अघि नै आफ्‍नो पारिसक्‍नुभएको छ। दाजुभाइहरू, यो पाइसकेको छु जस्‍तो त मलाई लाग्‍दैन तर एउटा कामचाहिँ गर्छु, त्‍योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु। यसकारण स्‍वर्गको इनाम जित्‍ने विचारले निशानातिर दगुर्दै छु। परमेश्‍वरले यसको लागि ख्रीष्‍ट येशूद्वारा अनन्‍तको जीवनमा मलाई बोलाउनुभएको हो। हामी आत्‍मामा पूरा बढेकाहरू जतिले यस्‍तै विचार गर्नुपर्छ। कसैकसैमा बेग्‍लै विचार छ भने परमेश्‍वरले नै तिमीहरूलाई बुझाउनुहुनेछ। जे भए पनि हामी यहाँसम्‍म जसरी आइपुग्‍यौं र त्‍यसरी नै अगाडि पनि बढ्दै जाऔं। ए मेरा दाजुभाइहरू, तिमीहरूले पनि मैले जस्‍तै गर। हामी तिमीहरूका लागि राम्रो नमुना भएका छौं। यसैले यही नमुनाअनुसार चल्‍नेहरूलाई नै तिमीहरूले पछ्याओ। मैले तिमीहरूलाई धेरै चोटि भनिसकेको छु, अहिले पनि ठूलो दु:खसाथ भन्‍दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रु नै भएर हिंड्दछन्। तिनीहरूको अन्‍त पनि नरकमै हुनेछ किनभने पेट नै तिनीहरूको देवता हो। लाज मान्‍नुपर्ने कुराहरूमा नै तिनीहरू झन् घमण्‍ड गर्दछन्। तिनीहरूको मन पनि यिनै संसारका कुराहरूमा मात्र लाग्‍दछ। हामीहरू त स्‍वर्गका नागरिकहरू हौं। मुक्ति दिने हाम्रा प्रभु येशू ख्रीष्‍ट स्‍वर्गबाट आउनुहुन्‍छ भनेर हामीले बाटो हेरिरहेका छौं। उहाँले सबै चीजहरू आफ्‍नै अधीनमा पारिसक्‍नुहुन्‍छ। उहाँको यही शक्तिले नै हाम्रो यस कमजोर मर्ने शरीरलाई उहाँको जस्‍तै नमर्ने र चम्‍किलो शरीर बनाउनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्