मर्कूस 16:1-9

मर्कूस 16:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

शबाथ-दिन बितेपछि मरियम मग्‍दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्‍धित द्रव्‍य येशूको शरीरमा घस्‍नलाई किने। साताको पहिलो दिनमा बिहानै घाम झुल्‍कँदा तिनीहरू चिहानमा गए। अनि तिनीहरूले आपसमा भने, “हाम्रा निम्‍ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला? अनि मास्‍तिर हेर्दा तिनीहरूले चिहानको त्‍यो ढुङ्गा हटाइराखेको देखे। त्‍यो ढुङ्गा खूब ठूलो थियो। अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्‍त्र लाएको एक जना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू आश्‍चर्यचकित भए। तर उनले तिनीहरूलाई भने, “आश्‍चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्‍दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्‌नुभएको छ। उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर। जाओ, र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अगिअगि गालीलमा जाँदैहुनुहुन्‍छ। उहाँले तिमीहरूलाई भन्‍नुभएबमोजिम तिमीहरू उहाँलाई त्‍यहाँ देख्‍नेछौ।” तिनीहरू निस्‍केर चिहानबाट दौड़े, किनकि डर र आश्‍चर्यले तिनीहरू कामिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए। [हप्‍ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्‌नुभएपछि उहाँ पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो। तिनीबाट येशूले सात वटा भूतहरू निकाल्‍नुभएको थियो।

शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्

मर्कूस 16:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

शब्बाथ सकिएपछि येशूको शरीरमा घस्‍न भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम र सलोमीले सुगन्धित मसलाहरू किने। हप्‍ताको पहिलो दिन, एकाबिहानै सूर्योदय हुनसाथ तिनीहरू चिहानतिर लागे। तिनीहरूले आपसमा भने, “चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर कसले हटाइदेला?” तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे। जब तिनीहरू चिहानभित्र पसे, तब सेतो लुगा लगाएका एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्‍क परे। तिनले भने, “छक्‍क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर। तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगि-अगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्‍नुभएबमोजिम त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ” स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए। जब येशू हप्‍ताको पहिलो दिनमा, बिहानै जीवित भई उठ्नुभयो, तब उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात वटा भूतहरू निकाल्नुभएको थियो।

शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्

मर्कूस 16:1-9 पवित्र बाइबल (NERV)

विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे। हप्ताको पहिलो दिनको बिहानै, तिनीहरू चिहानमा गइरहेका थिए। यसबेलासम्म घाम झुल्केकै थिएन। ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?” जब स्त्रीहरूले देखे, तिनीहरूले ढुङ्गा हटाईएको पाए। त्यो ढुङ्गा अति ठूलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो। तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए। उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो। अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।” ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगुरे। डरको कारणले के घट्ना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्। हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापर्नु भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो।

शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्

मर्कूस 16:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पवित्र विश्रामको दिन बितिसकेपछि त्‍यही बेलुका मरियम मग्‍दलिनी, याकूबकी आमा मरियम र सलोमीले येशूको लाशमा लगाउन सुगन्‍धित तेलहरू किने। भोलिपल्‍ट हप्‍ताको पहिलो दिन बिहानै घाम झुल्‍कँदा तिनीहरू येशूलाई राखिएको चिहानमा गए। बाटोमा जाँदा तिनीहरूले ‘चिहानको मुखमा लगाएको ढुङ्गाचाहिँ कसले हटाइदेला?’ भन्‍दै थिए। तर चिहानमा पुग्‍दा त त्‍यत्रो ठूलो ढुङ्गालाई पनि अघिबाट नै हटाइसकेको रहेछ। तिनीहरूले चिहानभित्र पसेर हेर्दा त्‍यहाँ एक जना सेतो लुगा लगाएको जवान मानिस चिहानको दाहिनेपट्टि बसिरहेको थिए। यो देखेर तिनीहरू तर्सिए। तर ती जवान मानिसले तिनीहरूलाई भने, “नडराओ, तिमीहरू क्रूसमा मारिनुभएको नासरतका येशूलाई खोजिरहेका छौ। तर हेर, येशू यहाँ हुनुहुन्‍न, उहाँ त बिउँतिएर गइसक्‍नुभयो! तिनीहरूले उहाँलाई राखेको ठाउँ यही हो, हेर त! तर अब गएर उहाँका चेलाहरू र खास गरी पत्रुसलाई ‘येशू अघिबाटै गालीलमा गइसक्‍नुभएको छ। उहाँले भन्‍नुभएजस्‍तै तिमीहरूले उहाँलाई त्‍यहीं देख्‍नेछौ’ भनेर भनिदेओ।” त्‍यति बेला तिनीहरू एकदमै अत्‍यास मानेर काम्‍दै चिहानबाट निस्‍केर भागे अनि यसरी डराएका हुनाले तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन्। येशू आइतवार बिहानै मरेकाबाट बिउँतनुभएपछि सबैभन्दा पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो। तिनै मरियमबाट उहाँले सात वटा भूत निकाल्‍नुभएको थियो।

शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्