मत्ती 7:19-23
मत्ती 7:19-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ। “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
मत्ती 7:19-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ। यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। “मलाई ‘प्रभु, प्रभु,’ भन्नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ। त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाममा अगमवाणी गरेनौँ र? अनि तपाईंको नाममा भूतहरू धपाएनौँ र? अचम्मका काम गरेनौँ र?’ तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’
मत्ती 7:19-23 पवित्र बाइबल (NERV)
असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ। यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ। “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ। अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’ तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’
मत्ती 7:19-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। त्यसरी नै तिमीहरूले नक्कली अगमवक्ताहरूलाई उनीहरूले गरेका कामबाटै चिन्नेछौ। “मलाई प्रभु, हे प्रभु भन्ने सबैले परमेश्वरको राज्यमा पस्न पाउनेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार काम गर्नेहरू मात्रै पस्न पाउनेछन्। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, ‘प्रभु, हे प्रभु, के हामीले तपाईंकै नाउँमा परमेश्वरको तर्फबाट बोलेनौं र? के तपाईंको नाउँ लिएर भूतहरू निकालेनौं र? के तपाईंको नाउँमा अचम्म-अचम्मका कामहरू गरेनौं र?’ त्यति बेला म तिनीहरूलाई भन्नेछु, ‘ए दुष्ट काम गर्नेहरू हो, तिमीहरूलाई मैले चिनेकै छैनँ। यहाँबाट गइहाल!’