लूका 12:17-22
लूका 12:17-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले मनमनै गुन्न लाग्यो, ‘मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरूँ?’ तब त्यसले भन्यो, ‘म यसो गर्नेछु— आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्यहीँ राख्नेछु। अनि म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख-चैनमा बस्। खा, पि, र मोज गर्’।” “तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने?’ “आफ्नो निम्ति धन-सम्पत्ति थुपार्ने, तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ।” उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसैकारण म तिमीहरूलाई भन्दछु, आफ्नो प्राणको निम्ति के खाऔं र शरीरको निम्ति के पहिरौं भनी चिन्तित नहोओ।
लूका 12:17-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले आफ्नो मनमा गुन्न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्न राख्ने मसँग ठाउँ नै छैन।’ “त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्न र मालसामान त्यहाँ राख्नेछु; अनि म आफैँलाई भन्नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’ “तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्त गर्ला?’ “आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर।
लूका 12:17-22 पवित्र बाइबल (NERV)
त्यो मानिस आफैं सोच्दथ्यो, ‘मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’ “तब त्यस धनी मानसले भन्यो, ‘म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछु र त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु। तब म आफैंलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै वर्षको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’ “तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, ‘तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?’ “यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरू धनि होइनन्।” येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ?
लूका 12:17-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनले मनमनै विचार गरे, ‘यी सबै अन्न कहाँ राख्ने होला? ठाउँ नै छैन। के गरूँ? अब म यसो गर्छु, ससाना भण्डार र भकारीहरू भत्काएर ठूला-ठूला बनाउँछु र त्यहीँ नै सबै अन्न र चीजबीज राख्छु। त्यसपछि म आफैंलाई भन्नेछु, तँ कति भाग्यमानी छस्! तँसँग वषौं-वर्षसम्म पुग्ने सम्पत्ति छ, सुखसँग खा, पी र मोज-मज्जा गर्’। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आजै राती तेरो प्राण जानेछ र तैँले साँचेर राखेको धन-सम्पत्ति कसले खाला’?” अनि येशूले यो दृष्टान्त टुङ्ग्याउँदै भन्नुभयो, “आफ्नो लागि धन थुपारेर राख्ने मानिसको गति यस्तै हुन्छ। परमेश्वरले यस्ताहरूलाई धनी सम्झनुहुन्न।” त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्ता नगर।