लेवीहरू 5:14-19

लेवीहरू 5:14-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

फेरि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, “जब कसैले अपराध गरेर परमप्रभुका पवित्र कुराहरूका विषयमा अजानमा पाप गर्छ, तब त्‍यसले परमप्रभुकहाँ पवित्रस्‍थानको शेकेलको हिसाबले चाँदीको ठीक दाममा बगालबाट निष्‍खोट भेड़ा आफ्‍नो दण्‍डको निम्‍ति ल्‍याओस्‌। यो दोषबलि हो। त्‍यसले पवित्र कुरामा जे चुकेको छ त्‍यसको भर्ना दिनुपर्छ, र त्‍यसको पाँचौँ भाग अझै थप्‍नुपर्छ, र पूजाहारीलाई त्‍यो सबै दिनुपर्छ। पूजाहारीले दोषबलिको भेड़ाद्वारा त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ। “कसैले परमप्रभुबाट मनाही भएको कुनै कुरा गरेर पाप गर्‍यो भने, त्‍यसलाई सो थाहा नभए तापनि त्‍यो दोषी हुन्‍छ, र त्‍यो त्‍यसको लागि दोषी हुनेछ। ठीक मोलबमोजिम त्‍यसको बगालबाट एउटा निष्‍खोट भेड़ा आफ्‍नो दोषबलिको निम्‍ति पूजाहारीकहाँ ल्‍याओस्‌। त्‍यसले थाहा नपाई अजानमा गरेको त्‍यसको अपराधको लागि यसरी पूजाहारीले प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ। यो दोषबलि हो। परमप्रभुको विरुद्धमा अपराध गरेकोले त्‍यो दोषी छ।”

शेयर गर्नुहोस्
लेवीहरू 5 पढ्नुहोस्

लेवीहरू 5:14-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

फेरि याहवेहले मोशालाई भन्‍नुभयो: “जब कसैले आज्ञा उल्‍लङ्घन गरेर अनजानमा याहवेहका पवित्र कुराहरूमा पाप गर्छ, त्यसले याहवेहकहाँ पवित्रस्थानको शेकेलअनुसार चाँदीको उचित मूल्य बराबरको एउटा निष्खोट भेडा आफ्नो बगालबाट दण्डस्वरूप ल्याओस्; यो दोषबलि हो। त्यसले पवित्र चीजहरूको विषयमा जुन कुरा पूरा गर्न सकेन, त्यसको निम्ति त्यसले हर्जाना तिरोस्। त्यसले त्यस मूल्यमा यसको पाँचौँ भाग थपेर पुजारीलाई देओस्, जसले दोषबलिको रूपमा भेडा लिएर त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। “यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ। त्यसले दोषबलिस्वरूप आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा बोका पुजारीकहाँ ल्याओस्। यस प्रकार त्यसले अनजानमा गरेको अपराधका लागि पुजारीले प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यो दोषबलि हो, त्यसले याहवेहको विरुद्धमा गरेको अपराधको त्यो दोषी छ।”

शेयर गर्नुहोस्
लेवीहरू 5 पढ्नुहोस्

लेवीहरू 5:14-19 पवित्र बाइबल (NERV)

तब परमप्रभुले मोशालाई भन्नुभयो, “जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेंडा ल्याउनुपर्छ। भेंडाको मोल आधिकारिक नाप अनुसार उसको पवित्र चीजहरूसित गरेको पापको निम्ति उसले अपराध बीस प्रतिशत जोडेर फिर्ता दिनुपर्छ। अनि दोषबलिको भेंडाद्वारा चढाएकोमा पूजाहारीले उसको पापको निम्ति प्रायश्चित गर्नेछ अनि उसलाई पाप क्षमा दिनेछ। “जब कुनै व्यक्तिले परमप्रभुले नगर्नु भनेको कामगर्छ तर उसलाई त्यो थाहा हुँदैन, तब पनि त्यो मानिस दोषी हुनेछ। तब उसले गरेको पापको ओजन बराबरको मूल्यमा एउटा निष्खोट भेंडा पूजाहारीकहाँ दोष बलिको निम्ति ल्याउनुपर्छ। जुन पाप उसले नजानी गरेको थियो पूजाहारीले त्यसले गरेको पापबाट उसलाई क्षमा गराउनेछ। यो एउटा दोषबलि हो, किनभने त्यो मानिस परमप्रभुअघि दोषी भएको छ।”

शेयर गर्नुहोस्
लेवीहरू 5 पढ्नुहोस्

लेवीहरू 5:14-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मोशालाई यस्‍तो नियम दिनुभयो। यदि कसैले परमप्रभुलाई दिनुपर्ने पवित्र भेटीहरू दिन भुलेर अन्‍जानमा पाप गर्‍यो भने त्‍यसले एउटा निष्‍खोट भेडा वा बोको परमप्रभुकहाँ दोषबलिको रूपमा ल्‍याओस्। त्‍यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्छ। त्‍यसले आफूले नचढाएको भेटीको मोल र त्‍यसमाथि त्‍यसको अरू पाँचौँ भाग थपेर दिनुपर्नेछ। उसले त्‍यो पूजाहारीलाई देओस्। पूजाहारीले त्‍यो पशु त्‍यस मानिसको पापको लागि बलि चढाओस् र त्‍यसले क्षमा पाउनेछ। कसैले अन्‍जानमा परमप्रभुको कुनै आज्ञा तोडेर पाप गर्‍यो भने त्‍यो दोषी ठहरिनेछ र त्‍यसले दण्‍ड तिर्नुपर्नेछ। त्‍यसले पूजाहारीकहाँ एउटा निष्‍खोट भेडा वा बोको दोषबलिको रूपमा ल्‍याओस्। त्‍यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्नेछ। पूजाहारीले त्‍यो पशु त्‍यस मानिसको पापको लागि बलि चढाओस् र त्‍यसले क्षमा पाउनेछ। त्‍यसले परमप्रभुको विरुद्धमा गरेको पापको लागि त्‍यो एउटा दोषबलि हो।

शेयर गर्नुहोस्
लेवीहरू 5 पढ्नुहोस्