यहोशू 7:1-3
यहोशू 7:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर नाशको निम्ति अर्पण गरिएका कुरामा इस्राएलीहरूले अपराध गरे, किनकि आकानले, जो यहूदा कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्ति अर्पण गरिएका मालबाट केही कुरा लियो। त्यसकारण परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्कियो। तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ-आवनको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, “तिमीहरू गएर त्यस देशको चेवा गर।” ती मानिसहरू गएर ऐको भेद लिए। अनि तिनीहरूले यहोशूकहाँ फर्केर आई भने, “सबै जना नगए पनि हुन्छ, करीब दुई-तीन हजार मानिसहरू गएर ऐलाई आक्रमण गरून्। सबै जनालाई त्यहाँ जाने दु:ख नदिनुहोस्, किनकि त्यहाँकाहरू थोरै मात्र छन्।”
यहोशू 7:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर अर्पण गरिएका चीजहरूको, विषयमा इस्राएलीहरू विश्वासयोग्य भएनन्। यहूदा कुलको जेरहको छोरा जब्दी जब्दीको छोरा कर्मी, कर्मीको छोरा आकानले ती अर्पण गरिएका चीजहरूबाट केही कुरा लियो। यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्कियो। यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए। जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तब तिनीहरूले भने, “ऐ सहरको विरुद्धमा सबै मानिसहरू नजाऊन्। त्यसलाई कब्जा गर्न दुई वा तीन हजार मानिसहरू पठाउनुहोस्। सबै मानिसहरू जाने कष्ट नदिनुहोस्; किनकि त्यहाँ थोरै मात्र मानिसहरू बस्दछन्।”
यहोशू 7:1-3 पवित्र बाइबल (NERV)
तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो। यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए। पछि, ती मानिसहरू यहोशू कहाँ फर्केर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।”
यहोशू 7:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुलाई चढाउनुपर्ने कुनै थोक यरीहोबाट नलिनू भन्ने परमप्रभुले इस्राएललाई दिनुभएको आज्ञापालन भएन। एक जना आकान नाम गरेको मानिसले त्यो आज्ञा मानेन। परमप्रभु इस्राएलीहरूमाथि औधी क्रोधित हुनुभयो। (आकान कर्मीको छोरो अनि जब्दीको नाति थियो। त्यो यहूदा कुलको जेरह गोत्रको थियो।) यहोशूले केही मानिसहरूलाई बेथ-आवनको नजिकै बेथेलको पूर्वमा भएको ऐ सहरमा त्यसको भेद लिने आज्ञा दिएर पठाए। त्यो काम गरिसकेपछि तिनीहरू फर्केर आई यहोशूलाई भने, “सबैले ऐमाथि हमला गर्न आवश्यक छैन। दुई वा तीन हजार मानिसहरू मात्र पठाऊ। त्यहाँ लड्नलाई सारा सेना नपठाऊ। त्यो सहर ठूलो छैन।”