न्यायकर्ताहरू 7:1-8
न्यायकर्ताहरू 7:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यरूब-बाल, जो गिदोन हुन्, र तिनीसँग भएका सबै मानिसहरू बिहान सबेरै उठे, र हरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरेका डाँड़ाको उत्तरपट्टिको बेँसीमा छाउनी हाले। परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। अब सबै मानिसहरूले सुन्ने गरी एउटा उर्दी घोषणा गर्, कि यहाँ कोही डरले काँप्नेहरू छन् भने ती गिलाद डाँड़ादेखि नै तुरुन्तै आफ्ना घरमा गइहालून्। यसरी बाईस हजार जना फर्किगए, र दश हजार बाँकी रहे। तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै पनि मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा, र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु। जब म भन्छु, ‘यो मानिसचाहिँ तँसँग जानेछ,’ तब त्यो जानेछ। र यदि म ‘यो मानिस तँसँग जानेछैन’ भनी भन्नेछु तब त्यो जानेछैन।” यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्याए, र परमप्रभुले तिनलाई भन्नुभयो, “हरेक मानिस जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख्, र अर्कोतिर चाहिँ जसले घुँड़ा टेकेर पानी पिउँछ तिनीहरूलाई राख्।” पानी चाटेर पिउनेको संख्या तीन सय भयो, र बाँकीले आफ्नो हात मुखमा लगी घुँड़ा टेकेर पानी पिए। परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी तीन सय जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु, र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। बाँकी सबै आ-आफ्नो ठाउँमा जाऊन्।” यसकारण गिदोनले यी बाँकी सबै इस्राएलीहरूलाई आ-आफ्नो पालमा पठाइदिए, र ती तीन सय जनालाई राखे। अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसदपानी र तुरहीहरू लिए। मिद्यानीहरूको छाउनी तिनको तलतिर बेँसीमा थियो।
न्यायकर्ताहरू 7:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बिहान सबेरै यरूब-बाल (जो, गिदोन हुन्), र तिनका सबै मानिसहरूले हेरोदको पानीको मूलमा छाउनी हाले। मिद्यानको छाउनीचाहिँ तिनीहरूको उत्तरतिर मोरेको डाँडाको छेउको बेँसीमा थियो। याहवेहले गिदोनलाई भन्नुभयो: “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित अति धेरै मानिसहरू छन्। नत्रता त इस्राएलले मेरो विरुद्ध घमण्ड गर्नेछ, ‘मेरो आफ्नै शक्तिले आफूलाई बचाएको हुँ।’ अब मानिसहरूलाई सूचित गर, ‘डरले काँप्नेहरू जो कोही गिलाद डाँडालाई छोडेर फर्किजाऊन्।’ ” यसकारण बाइस हजार जना फर्के, र दश हजारचाहिँ रहे। तर याहवेहले गिदोनलाई भन्नुभयो, “मानिसहरू अझ पनि धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजानू र त्यहाँ म तिनीहरूलाई तेरा निम्ति छान्नेछु। यदि मैले तँलाई ‘योचाहिँ तँसित जानेछ’ भनेर जब म भन्छु, तब त्यो जानेछ; तर यदि मैले ‘योचाहिँ तँसित जानेछैन’ भनेर जब म भन्छु, तब त्योचाहिँ जानेछैन।” यसकारण गिदोनले तिनीहरूलाई तल पानीमा लगे। त्यहाँ याहवेहले तिनलाई भन्नुभयो, “जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ, त्यसलाई घुँडा टेकेर पिउनेबाट अलग्गै राख्।” तीन सय जनाले आफ्ना हात मुखमा लगेर पानी चाटेर पिए। बाँकी सबैले आफ्ना घुँडा टेकाएर पानी पिए। याहवेहले गिदोनलाई भन्नुभयो: “ती पानी चाट्ने तीन सय जना मानिसद्वारा म तिमीहरूलाई छुटकारा गर्नेछु र मिद्यानीहरूलाई तिमीहरूका हातमा दिनेछु। अरू सबै मानिसहरू आ-आफ्ना घरमा जाऊन्।” यसकारण गिदोनले बाँकी इस्राएलीहरूलाई तिनीहरूका पालहरूमा पठाइदिए। तर तीन सय जनालाई चाहिँ राखे, जसले अरूका सामग्री र तुरहीहरू आफ्ना जिम्मामा लिए। अनि मिद्यानीहरूका छाउनीचाहिँ तिनको मुनि बेँसीमा थियो।
न्यायकर्ताहरू 7:1-8 पवित्र बाइबल (NERV)
बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो। तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन। यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।’” त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के, तर 10,000 मानिसहरू बाँकी रहे। तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।” यसर्थ गिदोनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्याऊः मानिसहरू जसले कुकुरले जस्तै जिब्रोले चाटेर पानी पिउँछन्, तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोप्टिन्छन् तिनीहरू अर्को समूहमा हुनेछन्।” तिनीहरूको हात प्रयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या 300 थियो अन्य सबै मानिसहरूले तल निहुरिएर पानी पिए। परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।” यसर्थ गिदोनले इस्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे। मिद्यानका मानिसहरू गिदोनको छाउनी मुनिको बेंसीमा छाउनी हालेर बसेका थिए।
न्यायकर्ताहरू 7:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन बिहानै गिदोन र उनका मानिसहरू उठे र हरोद खोलाका किनारमा छाउनी हाले। त्यसको उत्तरपट्टि मोरे डाँडाको छेउको बेसीमा मिद्यानीहरूको छाउनी थियो। परमप्रभुले गिदोनलाई भन्नुभयो, “तँसँग अति धेरै मानिसहरू छन्, म तिमीहरूलाई मिद्यानीहरूमाथि विजय हुन दिन चाहन्नँ। हामी आफैंले जितेका हौं भनी तिनीहरूले सोच्लान् र मलाई केही आदर नदेलान्। र मानिसहरूलाई यसो भन् ‘ज-जसलाई डर लागेको छ, ऊ घर फर्के हुन्छ, हामीहरूचाहिँ यहाँ गिलाद डाँडामा बस्नेछौं।” त्यसरी बाईस हजार मानिसहरू फर्कि गए; तर दश हजार त्यहाँ बसे। तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै तेरा मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा र म त्यहाँ तिनीहरूलाई अलग गर्नेछु। जुन मानिसलाई ‘तँसँग जानेछ’ भन्छु, ऊ तँसँग जानेछ तर जसलाई ‘जानेछैन’ भन्छु, ऊ तँसँग जानेछैन।” गिदोनले मानिसहरूलाई खोलामा लगे। परमप्रभुले भन्नुभयो, “ज-जसले कुकुरले जस्तो जिब्रोले पानी चाटेर पिउँछन्, तिनीहरूलाई एकातिर राख् र अर्कोतिर चाहिँ ज-जसले घुँडा टेकेर पानी पिउँछन्, तिनीहरूलाई राख्।” तीन सय मानिसहरूले पानी चाटेर पिए, बाँकी सबैले घुँडा टेकेर पानी पिए। परमप्रभुले गिदोनलाई भन्नुभयो, “तर कुकुरजस्ता चाटेर पानी पिउने तीन सय मानिसद्वारा म तँलाई मिद्यानीहरूमाथि विजय दिनेछु र तिमीहरूलाई बचाउनेछु। अरू जम्मैलाई घर जानू भन्।” गिदोनले ती तीन सय जना छोडी बाँकी सबैलाई घर जान दिए। ती तीन सय जनाले सारा खानेकुरा र तुरहीहरू राखे। मिद्यानीहरूको छाउनी तल बेसीमा थियो।