हिब्रू 8:1-13

हिब्रू 8:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब हामीले भन्‍न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा महान्‌ परमेश्‍वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ। मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्‍थान, साँचो पवित्र वासस्‍थानमा उहाँ सेवक हुनुहुन्‍छ। किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदान चढ़ाउन नियुक्त भएका हुन्‍छन्‌। यसकारण यी प्रधान पूजाहारीसँग पनि अर्पण गर्ने केही सामग्री हुनु आवश्‍यक छ। उहाँ यस पृथ्‍वीमै हुनुहुँदो हो त उहाँ पूजाहारी हुनुहुने नै थिएन, किनभने व्‍यवस्‍थाबमोजिम भेटी चढ़ाउने पूजाहारीहरू त छँदैछन्‌। तिनीहरूले स्‍वर्गीय पवित्रस्‍थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्‍थान बनाउन लाग्‍दा परमेश्‍वरको यस्‍तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।” तर यसै पनि ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा त्‍यतिकै बढ़ी श्रेष्‍ठ छ, जत्तिको उहाँले मध्‍यस्‍थता गर्नुभएको करार पुरानोभन्‍दा उत्तम छ। किनभने यो करारको जग उत्तम प्रतिज्ञाहरूमा बसालिएको छ। किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्‍यकता पर्नेथिएन। किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्‍नुहुन्‍छ, “परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ। परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरू मेरो करारमा स्‍थिर भई बसेनन्, यसैले मैले तिनीहरूको वास्‍ता गरिनँ। परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु, तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌। ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌। किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।” यस करारलाई “नयाँ” भन्‍नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्‍याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्‍छ, त्‍यो लोप भएर जानेछ।

शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्

हिब्रू 8:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ ती प्रधान पुजारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो। हरेक प्रधान पुजारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्त गरिएको हुन्छ; अनि यी प्रधान पुजारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो। यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पुजारी हुनुहुनेथिएन; किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पुजारीहरू छँदैछन्। तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्‍कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।” वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्‍च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्‍च दर्जाको छ। किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन। तर परमेश्‍वरले मानिसहरूमा दोष भेटेर भन्‍नुभयो: “यस्ता दिनहरू आउनेछन्, प्रभु घोषणा गर्नुहुन्छ, जब म इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूसँग नयाँ करार स्थापित गर्नेछु। यो त्यस करारजस्तै हुनेछैन, जुन करार मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर इजिप्टबाट डोर्‍याएर ल्याएको थिएँ; किनकि तिनीहरू मेरा करारप्रति विश्‍वासयोग्य भएनन्, अनि म तिनीहरूदेखि विमुख भएँ, प्रभु घोषणा गर्नुहुन्छ। त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु, प्रभु घोषणा गर्नुहुन्छ। म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु र ती तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्। अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्‍नेछन्। किनकि म तिनीहरूका दुष्‍टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।” यस करारलाई “नयाँ” भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।

शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्

हिब्रू 8:1-13 पवित्र बाइबल (NERV)

हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ। उहाँ परमपवित्र स्थानमा सेवा गर्नुहुन्छ। मानिसले होइन, परमेश्वरले बनाउनुभएको सत्य मन्दिरमा सेवा गर्नुहुन्छ। हरेक प्रधान पूजाहारीको काम हुन्छ परमेश्वरलाई भेटी र बली चढाउने। यसर्थ, हाम्रा प्रधान पूजाहारीले पनि परमेश्वरलाई केही चढाउनु पर्छ। यदि हाम्रा प्रधान पूजाहारी पृथ्वीमा हुनुभएको भए, उहाँ पूजाहारी हुनुहुँदैन थियो। म यसकारण यो भन्दैछु व्यवस्थाले चाहेको भेटी चढाउन त्यहाँ पूजाहारीहरू छँदैछन्। वास्तवमा पूजाहारीहरूले गरेको सेवा त केवल स्वर्गमा भएका कुराहरूको नवकल र छायाँ मात्र हुन्। त्यसैकारण मोशाले जब पवित्र तम्बू तान्दै थिए परमेश्वरले उनलाई चेतावनी दिनुभयो, “याद गर तिमीले हरेक कुरो त्यसै अनुसार बनाउनु जुन तिमीलाई मैले पहाडमा देखाएँ।” तर येशूलाई सुम्पिएको काम अरू पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशूले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ। पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन। तर परमेश्वरले मानिसहरूमा केही भूल भेट्टाउनुभयो। उहाँले भन्नुभयो, “समय आउँदैछ, जब म इस्राएलका मानिसहरूलाई, र यहूदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु। यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ। त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ। तर मैले दिएको करारको अनुशरण तिनले गरेनन् तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ। म यो नयाँ करार इस्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ। म आफ्नो करार तिनका मनमा हालिदिनेछु, म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु। म तिनका परमेश्वर बन्नेछु, र ती मेरा प्रजाहरू बन्नेछन्। अब उप्रान्त कसैले आफ्ना सह-वासीलाई अथवा आफ्ना भाइ बहिनीले प्रभुलाई चिन्न सिकाउनु पर्दैन, किनकि सबै मानिसले चाहे ठूलाबढा होऊन् चाहे सानातिना होऊन् मलाई चिन्नेछन्। मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु, अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।” यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहर्याउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।

शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्

हिब्रू 8:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामीले भनेका मुख्‍य कुरा पनि यिनै हुन्, हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्‍नुभएको छ। उहाँले महापवित्र स्थानमा प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्‍छ। यो महापवित्र स्थानचाहिँ मानिसले होइन तर परमेश्‍वरले टाँग्‍नुभएको साँचो पाल हो। सबै प्रधान पूजाहारीहरू परमेश्‍वरलाई दिएको भेटी र पशुबलि चढाउन खटिएका हुन्‍छन्। यसकारण हाम्रो प्रधान पूजाहारीले पनि केही कुरा त चढाउनैपर्‍यो। उहाँ यस पृथ्‍वीमा नै हुनुभएको भए पूजाहारी बन्‍नुहुने थिएन किनभने व्यवस्थाले भनेझैँ भेटी चढाउने पूजाहारीहरू त यहाँ अघिदेखि नै छँदैछन्। तिनीहरूले गर्ने काम स्‍वर्गमा भएको साँचो कुराको नकल र छायाँ मात्र हो। मोशालाई पनि यस्‍तै गर्न अह्राइएको थियो, जसले पवित्र पाल बनाउन लाग्‍दा परमेश्‍वरले उनलाई यसो भन्‍नुभएको थियो, “हेर, तँलाई पहाडमा देखाइएको नमुनाजस्‍तै सबै कुरा बनाउनू।” येशूलाई दिइएको पूजाहारीको काम ती अरू प्रधान पूजाहारीको कामभन्दा अझ ठूलो छ। त्‍यसरी नै परमेश्‍वर र उहाँका मानिसहरूबीच येशूले बाँध्‍नुभएको नयाँ करार पनि पहिले गरिएको पुरानो करारभन्दा ठूलो हो कारण यो करारमा अझ राम्रा कुराहरूको प्रतिज्ञा छ। पहिलो करार अपूरो नहुँदो हो त दोस्रो करार बाँध्‍नु नै पर्नेथिएन। तर परमेश्‍वरले आफ्‍ना मानिसहरूमा दोष भेट्टाउनुभयो अनि भन्‍नुभयो, “ती दिनहरू आउँदै छन्, परमप्रभु भन्‍नुहुन्‍छ, जब म इस्राएल र यहूदाका घरानासँग नयाँ करार बाँध्‍नेछु।” यो करारचाहिँ तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तो हुनेछैन। त्‍यस बेला त मैले हातमा समातेर तिनीहरूलाई मिश्रदेशबाट निकालेको थिएँ। तर मैले तिनीहरूसँग बाँधेको करार तिनीहरूले पालन गरेनन्। यसकारण मैले पनि तिनीहरूको वास्‍तै गरिनँ। प्रभु भन्‍नुहुन्‍छ कि अब आउने दिनहरूमा इस्राएलीहरूसँग बाँध्‍ने नयाँ करार कस्‍तो हुन्‍छ भने, म मेरा नियमहरू तिनीहरूका मनमा राखिदिनेछु र तिनीहरूका हृदयमै म ती नियमहरू लेखिदिनेछु, म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्। त्‍यस बेला कसैले पनि आफ्‍ना दाजुभाइ र छिमेकीलाई ‘परमप्रभु चिन’ भनेर सिकाउनुपर्नेछैन किनभने सानादेखि लिएर ठूलासम्‍म सबैले मलाई चिन्‍नेछन्। तिनीहरूका पाप म क्षमा गरिदिनेछु र तिनीहरूका अपराधहरूको सम्‍झना म राख्‍नेछैनँ। नयाँ करार भन्‍नेबित्तिकै परमेश्‍वरले पहिले बाँध्‍नुभएको करारलाई पुरानो ठहर्‍याउनुभयो। पुरानो भएर खिइँदैगएको कुरा चाँडै नाश पनि भएर जानेछ।

शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्