१ शमूएल 10:20-24
१ शमूएल 10:20-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब शमूएलले इस्राएलका सबै कुललाई हाजिर गराए, र गोला हाल्दा बेन्यामीनको कुल चुनियो। तब तिनले बेन्यामीनको कुलका वंश-वंश गरी हाजिर गराए, अनि मत्रीको वंश चुनियो। अन्त्यमा कीशका छोरा शाऊल चुनिए। तर जब मानिसहरूले उनलाई खोजे तब उनलाई भेट्टाउन सकेनन्। फेरि तिनीहरूले परमप्रभुलाई सोधे, “के त्यो मानिस यहाँ छ?” परमप्रभुले जवाफ दिनुभयो, “त्यो त्यहाँ सामानहरूका बीचमा लुकिरहेको छ।” तिनीहरू दौड़ेर गई उनलाई लिएर आए, अनि जब उनी मानिसहरूका बीचमा उभिए तब सबै मानिस उनको कुमभन्दा होचा थिए। शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले चुन्नुभएको मानिसलाई हेर। यस जम्मै जातिमा उनीजस्तै अरू कोही छैन।” तब ती मानिसहरूले नारा लगाएर कराए, “राजा दीर्घायु होऊन्।”
१ शमूएल 10:20-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब शमूएलले इस्राएलका सबै कुलहरूलाई उपस्थित गराए, तब चिट्ठाद्वारा बेन्यामीनको कुल चुनियो। तब तिनले बेन्यामीनको कुललाई वंश-वंश गरी अगि ल्याए, र मत्रीको वंश चुनियो। आखिरमा कीशका छोरा शाऊल चुनिए। तर जब तिनीहरूले तिनलाई खोजे, तब तिनलाई भेट्टाएनन्। यसकारण तिनीहरूले फेरि याहवेहलाई सोधे, “के ती मानिस यहाँ आइसके?” अनि याहवेहले भन्नुभयो, “हेर, त्यो सामानहरूका बीचमा लुकेको छ।” तब तिनीहरू दौडेर गए, र तिनलाई बाहिर निकाले। अनि जब शाऊल मानिसहरूको बीचमा उभिए, तब तिनी अरू सबै मानिसहरूभन्दा अग्ला थिए। अनि शमूएलले सबै मानिसहरूलाई भने, “के तिमीहरूले याहवेहले चुन्नुभएको मानिसलाई देख्यौ? सबै मानिसहरूको बीचमा तिनीजस्तै अरू कोही छैन।” मानिसहरूले कराएर भने, “हाम्रा राजा अमर रहून्!”
१ शमूएल 10:20-24 पवित्र बाइबल (NERV)
शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो। शमूएलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारालाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो। जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्। अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?” परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।” मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरू भन्दा अग्ला थिए। शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।” त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”
१ शमूएल 10:20-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब शमूएलले हरेक कुललाई अघि आउन अह्राए र परमप्रभुले बेन्यामीन कुललाई चुन्नुभयो। त्यसपछि शमूएलले बेन्यामीन कुलका परिवारलाई अघि आउन अह्राए र मत्रीको परिवार चुनियो। त्यसपछि मत्री परिवारका पुरुषहरू अघि आए अनि कीशको छोरो शाऊल चुनिए। तिनलाई तिनीहरूले खोजे तर नपाएर, परमप्रभुलाई सोधे, “के अझै अरू कोही छ?” परमप्रभुले उत्तर दिनुभयो, “शाऊल त्यहाँ खानेकुरा राखेका ठाउँको पछि लुकेको छ।” त्यसरी तिनीहरू दगुरेर गए र शाऊललाई निकालेर मानिसहरूका माझमा ल्याए र तिनीहरूले देखे कि सबै जना तिनको कुमभन्दा होचा थिए। शमूएलले प्रजालाई भने, “परमप्रभुले चुन्नुभएको मानिस यी नै हुन्! यिनीजस्ता अरू कोही हाम्रा माझमा छैनन्।” सारा प्रजाले नारा लगाए, “राजा दीर्घायु होऊन्!”