१ कोरिन्थी 8:1-13
१ कोरिन्थी 8:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब मूर्तिहरूलाई चढ़ाएको खानेकुरा बारेमा: हामी जान्दछौ, कि हामी सबैसित ज्ञान छ। ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले उन्नति गराउँछ। यदि कसैले “केही जान्दछु” भनी ठान्छ भने, उसले जति जान्नुपर्ने हो त्यति जानेको हुँदैन। तर कसैले परमेश्वरलाई प्रेम गर्दछ भने त्यसलाई परमेश्वरले चिन्नुहुन्छ। यसकारण मूर्तिहरूलाई चढ़ाएका खानेकुरा खाने विषयमा चाहिँ हामी जान्दछौं, कि मूर्तिको कुनै अस्तित्व नै छैन, र एक परमेश्वरबाहेक अरू छैन। आकाशमा वा पृथ्वीमा नाम मात्रका देवदेवताहरू छन् होला। (साँच्चै यस्ता धेरै “देवदेवताहरू” र “प्रभुहरू” छन्।) तर हाम्रा निम्ति त एउटै परमेश्वर पिता हुनुहुन्छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्ति हामी जिउँदछौं— हाम्रा निम्ति एउटै प्रभु, येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं। तापनि सबै मानिसमा त यो ज्ञान हुँदैन। तर कति मानिसहरूलाई मूर्तिपूजाको यति बानी बसेको हुन्छ, कि तिनीहरूले यस्तो भोजन खाँदा साँच्चै मूर्तिलाई चढ़ाएको भनिठान्छन्, र तिनीहरूको विवेक दुर्बल भएकोले अशुद्ध बन्छ। तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहणयोग्य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन। तर होशियार होऔ, तिमीहरूको यो स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्। किनभने यदि कुनै दुर्बल विवेक भएको मानिसले तिमी ज्ञान भएको मानिसलाई मूर्तिको मन्दिरमा खान बसेको देख्यो भने, मूर्तिलाई चढ़ाएको खानेकुरा खाने त्यसले साहस नगर्ला र? अनि तिम्रो ज्ञानले गर्दा त्यो दुर्बल भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो। अब यसरी आफ्ना भाइहरूका विरुद्धमा पाप गर्दा र तिनीहरूका दुर्बल विवेकलाई चोट लाउँदा तिमीहरू ख्रीष्टको विरुद्धमा पाप गर्दछौ। यसकारण खानेकुराले मेरो भाइलाई बाधा पार्छ भने म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ।
१ कोरिन्थी 8:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब मूर्तिहरूलाई चढाइएका खानेकुराको विषयमा: हामी जान्दछौँ, “हामी सबैसित ज्ञान छ।” ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले चाहिँ उन्नति गराउँछ। यदि कसैले केही जान्दछु भनी ठान्दछ भने वास्तवमा उसले जान्नुपर्ने जति अझै जानेको हुँदैन। तर जो व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ, त्यो परमेश्वरद्वारा चिनिएको हुन्छ। यसकारण मूर्तिहरूलाई चढाएको खानेकुराको विषयमा हेरौँ: हामी जान्दछौ कि “यस संसारमा मूर्तिहरू केही पनि होइनन्” र “एकबाहेक अरू कोही परमेश्वर छैन।” तर पनि आकाश वा पृथ्वीमा धेरै देवता भनिनेहरू छन्; साँच्चै धेरै “देवताहरू” र धेरै “प्रभुहरू” छन्, तर हाम्रा निम्ति परमेश्वर पिता एउटै हुनुहुन्छ, जसद्वारा सबै थोकहरू अस्तित्वमा आएका छन्, र जसको निम्ति हामी जिउँछौ; र एउटै प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुराहरू सृष्टि भएका हुन्, र जसद्वारा हामी जिउँछौँ। तर सबैलाई यो ज्ञान छैन। केही मानिसहरूलाई मूर्तिहरूमा यतिसम्म बानी बसेको हुन्छ, कि जब तिनीहरूले मूर्तिलाई बलि चढाएको भोजन खान्छन्, तब तिनीहरूले देवतालाई चढाएको चीज सम्झी खान्छन्। तिनीहरूको विवेक दुर्बल भएको कारणले अशुद्ध हुन्छ। तर भोजनले हामीलाई परमेश्वरको नजिक ल्याउँदैन। त्यो नखाँदैमा कुनै हानि छैन, र खाँदैमा पनि कुनै लाभ छैन। तर होसियार रहो, नत्रता तिमीहरूको यो स्वतन्त्रता कमजोर विवेक हुनेहरूलाई ठेसको कारण बन्न जाला। किनकि यदि कमजोर विवेक भएको व्यक्तिले तिमीहरू ज्ञान भएकाहरूलाई मूर्तिहरू भएको मन्दिरमा खाँदैगरेको देख्यो भने के त्यसले पनि मूर्तिलाई चढाएको कुरा खान साहस गर्दैन र? यसकारण तिमीहरूको ज्ञानको कारण त्यो कमजोर दाजुभाइ वा दिदीबहिनीहरू नष्ट नहोस्, जसका निम्ति ख्रीष्ट मर्नुभयो। जब तिमीहरू उनीहरूका विरुद्धमा यसरी पाप गर्दछौ; उनीहरूका कमजोर विवेकलाई चोट पार्दछौ, तब तिमीहरूले ख्रीष्टको विरुद्धमा पाप गर्दछौ। यसकारण यदि म जे खान्छु, त्यसले मेरो दाजुभाइ वा दिदीबहिनीहरूलाई पाप गर्न लगाउँछ भने म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म तिनीहरूको पतन हुने कारण नबनूँ।
१ कोरिन्थी 8:1-13 पवित्र बाइबल (NERV)
अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ। जसले केही जान्दछु भन्ने सन्झन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन। तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्। यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ। धेरै वस्तुहरू छन् कि मानिसहरूले दुवै स्वर्गमा र पृथ्वीमा देवताहरू भन्छन्। यसको कुनै महत्व छैन्, तर वास्तविकता चाँहि यो छ मानिसहरू धेरै वस्तुहरूलाई “देवताहरू” र “मालिकहरू” मान्छन्। तर हाम्रा निम्ति त एउटै परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रा पिता हुनु हुन्छ। अनि उहाँ बाटनै प्रत्येक चीज आयो र हामी उहाँका निम्ति छौं। अनि प्रभु पनि एउटै हुनु हुन्छ। उहाँ येशू ख्रीष्ट हुनु हुन्छ। येशूको तर्फबाटै प्रत्येक कुरा हुनआए अनि हामीमा जीवन उहाँबाटै छ। तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफैं निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैंलाई दोषी सम्झन्छन्। तर खाने कुराले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदैन। नखाँदैमा कुनै हानी छैन र खाँदैमा कुनै लाभ छैन। तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्। तिमीसित बुद्धि छ यसर्थ मूर्तिको मन्दिरमा बस्नु अनि खानु तिमीलाई स्वतन्त्र लाग्छ। दुर्वल विश्वास भएका कुनै मानिसले तिमीलाई त्यहाँ खाँदै गरेको देख्न सक्छ, यसर्थ उसलाई मूर्तिमा चढाएका मासु खानु उत्साह हुन्छ, यद्यपि वास्तवमा उसले भूल काम सम्झन्छ। यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ। जब तिमी तिम्रो ख्रीष्टमा भएका दाज्यू-भाइ तथा दिदी-बहिनीहरूको विरोधमा यस्तो पाप गर्दछौ तिनीहरूको विवेकमा चोट पुर्याउने छौ अनि ख्रीष्टको विरुद्ध तिमी पाप गर्नेछौ। यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।
१ कोरिन्थी 8:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब म मूर्तिलाई चढाएको खानेकुराको बारेमा भन्दछु। साँचो कुरा हो, ‘हामी सबैले ज्ञान पाएका छौं’। तर ज्ञानको घमण्डले मानिसलाई फुलाउँछ र प्रेमले चाहिँ उन्नति गराउँछ। यदि कसैले आफैंलाई म साँच्चै जान्दछु भन्छ भने उसले जान्नुपर्ने कुरा केही जानेको हुँदैन। तर कसैले परमेश्वरलाई प्रेम गर्छ भने उसलाई परमेश्वरले आफ्नो बनाउनुहुन्छ। मूर्तिलाई चढाएको चीज खानुहुन्छ कि हुँदैन भन्ने बारेमा हामीलाई थाहा छ, संसारमा मूर्ति केही पनि होइन, एउटै मात्र परमेश्वरबाहेक अरू छैन। स्वर्ग र पृथ्वीमा धेरै ईश्वर भनाउँदा हुन्छन्। ईश्वर र प्रभु धेरै भए पनि हाम्रा लागि चाहिँ एउटै पिता परमेश्वर हुनुहुन्छ। उहाँले नै सबैको सृष्टि गर्नुभयो। उहाँकै लागि हामी जिउँछौं। हाम्रा एउटै प्रभु; येशू ख्रीष्ट हुनुहुन्छ। उहाँद्वारा नै सबै सृष्टि भयो र उहाँद्वारै हामी जिउँछौं। तर सबै विश्वासीहरूलाई यो थाहा छैन। तिनीहरूलाई मूर्तिको गहिरो आदत भएकोले अझै पनि त्यस्तो खानेकुरो खाँदा मूर्तिकै खानेकुरो खाँदै छु भन्ठान्छन्। तिनीहरूको राम्रो-नराम्रो छुट्याउने शक्ति कमजोर भएकोले त्यो खानेकुराले ‘म अशुद्ध भएँ’ भनी ठान्छन्। खानेकुराले त हामीलाई परमेश्वरकहाँ पुर्याउँदैन। नखाँदा पनि हामीलाई केही हानि छैन, खाँदा पनि केही मिल्ने होइन। तर होश राख, तिम्रो स्वतन्त्र कामले विश्वासमा कमजोर हुनेहरूलाई पापमा नलडाओस्। यदि कमजोर विश्वासीहरूले तिमीहरू जान्ने-बुझ्नेलाई मूर्तिको मन्दिरमा खाइरहेको देख्यो भने ऊ मूर्तिलाई चढाएको प्रसाद खान सुरिंदैन र? मन कमजोर हुने त्यो विश्वासी भाइ तिम्रो आफ्नो ज्ञानको कारणले लड्छ। तर उसको लागि पनि प्रभुले प्राण दिनुभएको हो। यसरी तिमीहरूले आफ्नो भाइको कमजोर मनमा चोट पुर्याएर ख्रीष्टको विरूद्धमा नै पाप गर्छौ। यदि खानेकुराले मेरो विश्वासी भाइलाई नाश गराउँछ भने म कहिले मासु नै खानेछैनँ।