हितोपदेश 24
24
भनाइ 20
1दुष्ट मानिसहरूप्रति ईर्ष्या नगर,
तिनीहरूका सङ्गतको चाहना नगर;
2किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ,
र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ।
भनाइ 21
3बुद्धिद्वारा घर बनाइन्छ,
र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ;
4ज्ञानद्वारा त्यसका कोठाहरू
मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्।
भनाइ 22
5बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ;
र ज्ञानी मानिसले सामर्थ्य बढाउँछ।
6निश्चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ;
र विजय पाउनलाई धेरै सल्लाहकारहरू चाहिन्छ।
भनाइ 23
7मूर्खको लागि बुद्धि धेरै उच्च हुन्छ;
मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन।
भनाइ 24
8जसले खराबी रच्दछ,
त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ।
9मूर्खताका षड्यन्त्रहरू पाप हुन्;
र मानिसहरूले गिल्ला गर्नेलाई घृणा गर्छन्।
भनाइ 25
10यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने,
तिम्रो बल कति थोरै रहेछ!
11अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर;
मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक।
12यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”,
तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्नुहुन्न र?
तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्नुहुन्न र?
के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र?
भनाइ 26
13हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ;
चाकाबाट निकालिएको मह स्वादिष्ठ हुन्छ।
14यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ;
तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ,
र तिम्रो आशा खोसिनेछैन।
भनाइ 27
15चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस;
तिनको वासस्थान नलुट,
16किनकि धर्मी मानिस सात पल्ट लड्यो भने तापनि फेरि उठ्छ;
तर दुष्टहरूचाहिँ विपत्तिले नष्ट हुनेछन्।
भनाइ 28
17तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर,
तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्;
18नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ;
र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ।
भनाइ 29
19दुष्ट मानिसहरूका कारण चिन्ता नमान,
न त दुष्टहरूप्रति डाही बन।
20किनकि दुष्ट मानिसको भविष्यको आशा हुँदैन,
र दुष्टको बत्ती निभाइनेछ।
भनाइ 30
21हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान;
र विद्रोहीहरूसित नमिल;
22किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ;
दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र?
बुद्धिमान्का अन्य भनाइहरू
23यी पनि बुद्धिमान्का भनाइहरू हुन्:
न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।
24जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ,
मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्।
25तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ,
र तिनीहरूले प्रशस्त आशिष्हरू प्राप्त गर्नेछन्।
26इमानदार जवाफचाहिँ
ओठमाथि परेको चुम्बनजस्तै हो।
27तिम्रो बाहिरको काम पूरा गर,
र तिम्रो खेतबारी तयार पार;
त्यसपछि आफ्नो घर बनाऊ।
28तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ,
उसको विषयमा झूटो नबोल।
29“मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु,
म त्यसलाई बदला लिनेछु”, भनी नभन।
30म एउटा अल्छेको खेतबाट भएर गएँ;
म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ;
31चारैतिर काँडाहरू उम्रेका थिए;
जमिन झारैझारले ढाकेको थियो,
अनि ढुङ्गाको पर्खाल भत्किएको थियो।
32मैले देखेका कुरा हृदयमा विचार गरेँ;
र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ:
33एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले,
हात बाँधेर एकैछिन मारिएको थकाइले,
34तिमीमाथि गरिबी डाँकुजस्तै
र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 24: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.