फिलिप्पी 3:8-14

फिलिप्पी 3:8-14 NCV

हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ। उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ। म ख्रीष्‍टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्‍न चाहन्छु—उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु; अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु। मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु; म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ।

फिलिप्पी 3 पढ्नुहोस्