गन्ती 21:21-35
गन्ती 21:21-35 NCV
इस्राएलले एमोरीहरूका राजा सीहोनकहाँ यसो भन्नलाई सन्देश वाहकहरू पठाए: “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीतिर फर्कनेछैनौँ अर्थात् कुनै इनारबाट पानी पिउनेछैनौँ। हामी तपाईंको सिमानाबाट भएर पार नभएसम्म राजाको मूलबाटो भएर यात्रा गर्नेछौँ।” तर सीहोनले आफ्नो सिमानाबाट भएर इस्राएलीहरूलाई छिरेर जान दिएनन्। तिनले आफ्नो सारा सेनालाई जम्मा गरे। अनि उजाडस्थानमा इस्राएलीहरूका विरुद्धमा मोर्चा बाँधे। जब तिनी यहस सहरमा आइपुगे, तब तिनीहरूले इस्राएलीहरूसँग युद्ध गरे। तर इस्राएलीहरूले राजालाई तरवारले मारे। अनि अर्नोनदेखि यब्बोकसम्म तिनको देश कब्जा गरे। तैपनि अम्मोनीहरूको सिमानासम्म मात्र कब्जा गरे; किनभने अम्मोनीहरूको सिमाना बलियो किल्ला भएको थियो। इस्राएलले एमोरीहरूका सबै सहरहरू कब्जा गरे, र ती सहरहरूमा बसोबास गरे। हेश्बोन र त्यसका छेउछाउका सबै बस्तीहरूमा समेत बसोबास गर्न थाले। हेश्बोनचाहिँ एमोरीहरूका राजा सीहोनको सहर थियो, जसले मोआबका अगिल्ला राजाको विरुद्धमा युद्ध गरेर तिनको सम्पूर्ण देश अर्नोनसम्मै लिएका थिए। त्यसैकारण कविहरूले यसो भन्छन्: “हेश्बोनमा आओ, र यो सहर पुनर्निर्माण होस्; सीहोनको सहर पुनर्स्थापित होस्। “हेश्बोनबाट आगो निस्केर गयो; सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो। यसले मोआबको आर सहरलाई भस्म पार्यो। अर्नोनका शिखरमा बस्नेहरूलाई भस्म पार्यो। ए मोआब, धिक्कार छ तँलाई! ए कमोशका मानिसहरू नष्ट पारिएका छौ! कमोशले आफ्ना छोराहरूलाई भगुवाझैँ, र आफ्नी छोरीहरूलाई कैदीझैँ गरेर एमोरीहरूको राजा सीहोनलाई दिएको छ। “तर हामीले हेश्बोनीहरूलाई जितेका छौँ; हेश्बोनचाहिँ दीबोन सहरसम्मै नष्ट पारिएको छ। हामीले तिनीहरूलाई नोपाहसम्मै ध्वंस पारिदिएका छौँ, जुनचाहिँ मेदेबासम्म फैलिएको छ।” यसरी इस्राएलीहरू एमोरीहरूको देशमा बसोबास गरे। मोशाले याजेरमा जासुस गर्न मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका चारैतिरका बस्तीहरू कब्जा गरे। अनि त्यहाँ भएका एमोरीहरूलाई पनि धपाइदिए। त्यसपछि तिनीहरू फर्केर बाशानतिरको बाटो भएर उक्ले। अनि बाशानका राजा ओग इस्राएलीहरूसँग युद्ध गर्न आफ्ना सारा सेना लिएर एद्रई सहरमा मोर्चा बाँधेर निस्के। याहवेहले मोशालाई भन्नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।” यसकारण इस्राएलीहरूले राजालाई, तिनका छोराहरू र सारा सेनाहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल एकैसाथ मारे। अनि तिनीहरूको देशलाई कब्जा गरे।

