उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरूका सामु भएको गाउँमा जाओ, र त्यहाँ पुग्नेबित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ। यदि कसैले तिमीहरूलाई केही भन्यो भने तिनीहरूलाई भन्नू, प्रभुलाई यिनीहरूको खाँचो छ, र त्यसले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछ।”
अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो:
“यरूशलेमका मानिसहरूलाई भन,
‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदैहुनुहुन्छ,
नम्र र गधामाथि सवार हुनुभएर,
बछेडामाथि, एउटा गधाको बछेडामाथि।’ ”
ती चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे। तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए; र येशू त्यसमाथि बस्नुभयो। एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए। उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए,
“दावीदका पुत्रलाई होसन्ना!”
“धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!”
“परमधाममा होसन्ना।”
जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?”
त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।”
येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो। र उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’”
दृष्टिविहीन र लङ्गडाहरू उहाँकहाँ मन्दिरमा आए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। तर जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्भुत कार्यहरू देखे, र मन्दिरको इलाकामा बालबालिकाहरूले “दावीदका पुत्रलाई होसन्ना” भनेका सुने, तब तिनीहरू रिसाए।
तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?”
येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ:
“ ‘केटाकेटीहरू र शिशुहरूका ओठबाट
प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ?’”
अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाहिर बेथानीमा जानुभयो, र त्यहीँ बास बस्नुभयो।