मत्ती 13:3-11
मत्ती 13:3-11 NCV
तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्टान्तबाट धेरै कुराहरू भन्नुभयो: “एक जना किसान बिउ छर्नलाई निस्क्यो। उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए। केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्त नभएकोले, ती चाँडै उम्रे। तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले। अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढेर आए, र ती बिरुवाहरूलाई निसासिदिए। अरू बिउहरूचाहिँ असल जमिनमा परे; जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्न फलाए। जसको कान छ, त्यसले सुनोस् र बुझोस्।” चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई प्रकट गरिएको छैन।

