यशैया 6:1-6
यशैया 6:1-6 NCV
उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो। उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे। तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए: “सेनाहरूका याहवेह, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए; अनि मन्दिर धुवाँले भरियो। म कराएँ, “धिक्कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।” तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए।

