उत्पत्ति 18:16-33

उत्पत्ति 18:16-33 NCV

जब ती मानिसहरू जान तयार भए, तब तिनीहरूले तल सदोमतिर हेरे; अनि उहाँहरूलाई अलिक परसम्म पुर्‍याउन अब्राहाम पनि सँगै गए। तब याहवेहले भन्‍नुभयो, “मैले जे गर्न लागेको छु, के म त्यो कुरा अब्राहामबाट लुकाऊँ? निश्‍चय नै अब्राहामको वंश एउटा महान् र शक्तिशाली राष्ट्र बन्‍नेछ, र पृथ्वीका सबै राष्ट्रहरूले ऊद्वारा नै आशिष् पाउनेछन्। किनकि मैले उसलाई चुनेको छु, ताकि उसले आफ्ना छोराछोरी र त्यसपछिका आफ्ना घरानालाई जे ठिक र न्यायसङ्गत छ, सो गर्दै याहवेहको वचनको पालन गर्न आदेश गर्नेछ। त्यसपछि म अब्राहामका निम्ति सबै कुरा पूरा गर्नेछु, जुन मैले प्रतिज्ञा गरेको छु।” तब याहवेहले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आक्रोश अत्यन्तै ठूलो छ; अनि तिनीहरूको कुकर्म अति नै भएकोले, मकहाँ आएको तिनीहरूको गुनासो सही हो कि होइन भनी हेर्न अब म तल जानेछु। यदि होइन रहेछ भने म थाहा गर्नेछु।” यसकारण ती मानिसहरू फर्केर सदोमतिर गए; तर अब्राहामचाहिँ याहवेहकै सामु उभिरहे। तब अब्राहाम उहाँको नजिक गएर भने: “के तपाईंले दुष्‍टहरूसँगै धर्मीलाई पनि नाश गर्नुहुन्छ? यदि त्यस सहरमा पचास जना धर्मी मानिस रहेछन् भने के तपाईंले त्यस सहरलाई साँच्‍चै नाश गर्नुहुनेछ? के ती पचास धर्मी मानिसको खातिर त्यस ठाउँलाई छोडिदिनुहुन्‍न? तपाईंबाट यस्तो पटक्‍कै नहोस्—धर्मीलाई पापीसँग मार्ने, र धर्मी र पापीलाई एउटै व्यवहार गर्ने काम तपाईंबाट नहोस्! तपाईंबाट यस्तो कदापि नहोस्! के सारा पृथ्वीका न्यायकर्ताले ठिक न्याय गर्नुहुन्‍न र?” तब याहवेहले भन्‍नुभयो, “यदि मैले सदोम सहरमा पचास जना धर्मी मानिस पाएँ भने म तिनीहरूका खातिर सम्पूर्ण सहरलाई नाश गर्नेछैनँ।” त्यसपछि अब्राहामले फेरि भने: “हुन त म धुलो र खरानीबाहेक केही होइनँ, तापनि मैले प्रभुसँग बोल्ने साहस गरेको छु। यदि त्यस सहरमा पाँच कम पचास जना धर्मी मानिस रहेछन् भने के पाँच जना धर्मी कम भएको कारण तपाईंले सम्पूर्ण सहरलाई नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “यदि मैले पैँतालीस जना पाएँ भने पनि म त्यसलाई नाश गर्नेछैनँ।” एक पल्ट फेरि तिनले भने, “यदि चालीस जना मात्र पाइए भने नि?” उहाँले भन्‍नुभयो, “चालीस जनाको खातिर पनि म त्यसो गर्नेछैनँ।” तब तिनले भने, “प्रभु, रिसानी माफ पाऊँ, तर म अझै बोल्न पाऊँ। यदि तीस जना मात्र पाइए भने?” उहाँले जवाफ दिनुभयो “यदि तीस जना मात्र पाएँ भने तापनि म त्यसो गर्नेछैनँ।” अब्राहामले भने, “मैले फेरि प्रभुसित बोल्न साहस गरेको छु; यदि त्यहाँ बीस जना मात्रै पाइए भने नि?” उहाँले भन्‍नुभयो, “बीस जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।” तब तिनले भने, “प्रभु रिसानी माफ पाऊँ; तर अब एक पल्ट मात्रै बोल्न पाऊँ। यदि दश जना मात्र त्यहाँ पाइए भने?” अनि उहाँले भन्‍नुभयो, “दश जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।” अब्राहामसित कुरा गरिसक्नुभएपछि याहवेह गइहाल्नुभयो; अनि अब्राहामचाहिँ आफ्नो घरमा फर्के।

उत्पत्ति 18 पढ्नुहोस्