इजकिएल 6
6
इस्राएलको पर्वतहरूको विरुद्धमा भविष्यवाणी
1याहवेहको वचन मकहाँ आयो: 2“हे मानिसको छोरा, तेरो अनुहार इस्राएलका पर्वतहरूतिर फर्का; तिनीहरूका विरुद्धमा अगमवाणी गर्, 3र भन्: ‘हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको वचन सुन। पहाडहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई प्रभु याहवेह यसो भन्नुहुन्छ: मैले तिमीहरूका विरुद्धमा तरवार ल्याउन लागेको छु, र तिमीहरूका देवस्थानहरू म नाश गरिदिनेछु। 4तिमीहरूका वेदीहरू भत्काइनेछन् र तिमीहरूका धूप-वेदीहरू चकनाचुर पारिनेछन्; अनि म तिमीहरूका मानिसहरूलाई तिमीहरूकै मूर्तिहरूका सामु मार्नेछु। 5म इस्राएलीहरूका लासहरू तिनीहरूका मूर्तिहरूकै सामु राखिदिनेछु; अनि म तिमीहरूका हड्डीहरू तिमीहरूका वेदीहरूका चारैतिर छरपस्ट पारिदिनेछु। 6तिमीहरू जहाँ बसे तापनि तिमीहरूका सहरहरू उजाड पारिनेछन् र देवस्थानहरू भत्काइनेछन्, र तिमीहरूका वेदीहरू उजाड र क्षत-विक्षत हुनेछन्। तिमीहरूका मूर्तिहरू चकनाचुर हुनेछन् र ध्वस्त पारिनेछन्, तिमीहरूका धूप-वेदीहरू भत्काइनेछन्; अनि तिमीहरूले बनाएका सबै चीजहरू नष्ट हुनेछन्। 7तिमीहरूका मानिसहरू तिमीहरूकै बीचमा मारिएर लड्नेछन्, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।
8“ ‘तर म केही मानिसहरूलाई बचाइराख्नेछु; किनकि जब तिमीहरू देश र जाति-जातिहरू बीचमा छरपस्ट हुनेछौ, तब तिमीहरूमध्ये केही तरवारबाट उम्कनेछौ। 9त्यसपछि कैदमा लगिएका मानिसहरू, जाति-जातिहरूका बीचबाट उम्कनेहरू, जसले मलाई सम्झनेछन्—तिनीहरूका व्यभिचारी हृदयबाट मदेखि अलग भएका छन्; अनि तिनीहरू आकर्षित मूर्तिहरूका पछि लागेका छन्, र तिनीहरूका लोभी नजरहरूको कारण म दुःखित भएको छु। तिनीहरूले गरेका दुष्टता र तिनीहरूका सबै घिनलाग्दा कामहरूका निम्ति तिनीहरू आफ्नै नजरमा घृणित हुनेछन्। 10तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्। तिनीहरूमाथि विपत्तिहरू ल्याउँछु भनी मैले व्यर्थैमा धम्की दिएको होइनँ।
11“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: इस्राएलका घरानाका सबै दुष्टता र घिनलाग्दा कामहरूको कारण आफ्ना हातहरू ठटाउँदै र खुट्टाहरू एकसाथ बजारेर भन्, “हाय!” किनकि तिनीहरू तरवार, अनिकाल र रूढीले नष्ट हुनेछन्। 12टाढा हुनेहरू रूढीद्वारा मर्नेछन् र नजिक हुनेहरू तरवारले ढल्नेछन्; अनि बाँचेकाहरू र छोडिएकाहरूचाहिँ अनिकालले मर्नेछन्। यसरी म आफ्नो क्रोध तिनीहरूमाथि खन्याउनेछु। 13जब तिनीहरूका वेदीहरूका चारैतिर तिनीहरूका मूर्तिहरूका बीचमा, प्रत्येक देवस्थानमा, सबै पहाडहरूमा, तिनीहरूका प्रत्येक झ्याम्म परेको फलाँटका रूखमुनि, तिनीहरूका सबै मूर्तिहरूलाई सुगन्धित धूप चढाएका ठाउँहरूमा र तिनीहरूका मारिएका मानिसहरू छरपस्ट भई छरिरहनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्। 14अनि म तिनीहरूको विरुद्धमा आफ्नो हात पसार्नेछु, र मरुभूमिदेखि दिब्लासम्म—तिनीहरू जहाँ बसे तापनि देशलाई उजाड पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 6: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.