इजकिएल 22
22
यरूशलेमको पापको न्याय
1याहवेहको वचन मकहाँ आयो:
2“हे मानिसको छोरा, के तैँले त्यसको न्याय गर्नेछस्? के तैँले रक्तपातको यो सहरलाई न्याय गर्नेछस्? तब त्यसका सबै घिनलाग्दा कामहरूसँग सामना गर्, 3र त्यसलाई भन्: प्रभु याहवेह यसो भन्नुहुन्छ: हे सहर तैँले आफ्नो बीचमा रक्तपात गरेर आफूमाथि सर्वनाश ल्याउँछस्, र मूर्तिहरू बनाएर आफूलाई अशुद्ध पार्छस्, 4तैँले रक्तपात गरेको कारण तँ दोषी भएको छस्; अनि तैँले मूर्तिहरू बनाएको कारण तँ अपवित्र भएको छस्। तैँले तेरा दिनहरूको अन्त्य नजिक ल्याएको छस्; अनि तेरा वर्षहरूको अन्त्य आइपुगेको छ। यसकारण जातिहरूका निम्ति म तँलाई गिल्लाको पात्र र सबै देशहरूका निम्ति हाँसोको पात्र बनाउनेछु। 5हे कुख्यात सहर, उपद्रवले भरिएको तेरा नजिक हुने देशहरू र तँबाट टाढा हुने देशहरूले तँलाई गिल्ला गर्नेछन्।
6“ ‘हेर्, सहरमा भएका इस्राएलका हरेक राजकुमारले कसरी आफ्नो शक्ति रक्तपात गर्नलाई प्रयोग गर्छन्। 7तँभित्र तिनीहरूले आफ्ना बुबा र आमालाई घृणा गरेका छन्; विदेशीमाथि अत्याचार गरेका छन् र अनाथहरू र विधवाहरूलाई दुर्व्यवहार गरेका छन्। 8तैँले मेरा पवित्र कुराहरूलाई तुच्छ ठानेको छस्, र मेरा शब्बाथहरूलाई अपवित्र पारेको छस्। 9तँभित्र रक्तपात गर्न रुचाउने र निन्दा गर्ने मानिसहरू छन्; तँभित्र देवस्थानहरूका झूटा मूर्तिहरूलाई चढाइएका खानेहरू र कामुक काम गर्ने मानिसहरू छन्। 10तँभित्र ती मानिसहरू छन्, जो आफ्ना बुबाको ओछ्यानको अनादर गर्छन्; तँभित्र यस्ता मानिसहरू छन्, जो रजस्वलाको अवस्थामा र विधिपूर्वक अशुद्ध अवस्थामा रहेकी स्त्रीहरूसित यौन सम्पर्क राख्छन्। 11तँभित्र एउटा मानिसले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो काम गर्छ, र अर्को मानिसले आफ्नो बुहारीलाई शर्मलाग्दो तरिकाले अशुद्ध पार्छ; अनि अर्को मानिसले आफ्नी बहिनी र आफ्नै बुबाकी छोरीसँग यौन सम्पर्क राखेर अशुद्ध पार्छ। 12तँभित्र तिनीहरूले घूस लिएर रक्तपात गर्छन्; तैँले खाँचोमा पर्नेहरूबाट वा गरिबहरूबाट ब्याज लिन्छस् र आफ्नो फाइदा गर्छस्। तैँले जबरजस्ती लिएर आफ्ना छिमेकीहरूबाट अन्यायपूर्वक फाइदा लिन्छस्। अनि तैँले मलाई पनि भुलेको छस्, प्रभु याहवेह भन्नुहुन्छ।
13“ ‘तैँले अन्यायपूर्वक फाइदा लिएको कारण र तैँले आफ्नो बीचमा रक्तपात गरेको कारण म निश्चय नै रिसमा मेरो दुवै हात ठटाउनेछु। 14जब म तेरो न्याय गर्छु, के तेरो साहस स्थिर रहला? अथवा तेरा हातहरू दह्रिला रहलान्? म याहवेहले नै भनेको हुँ, र म यो गर्ने नै छु। 15म तँलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र तँलाई भिन्न-भिन्न देशभरि छरपस्ट पारिदिनेछु; अनि म तेरो अशुद्धताको अन्त्य गरिदिनेछु। 16जब तँ जाति-जातिहरूको दृष्टिमा अशुद्ध पारिन्छस्, तब तैँले म नै याहवेह हुँ भनी जान्नेछस्।’ ”
17तब याहवेहको वचन मकहाँ आयो: 18“हे मानिसको छोरा, इस्राएलका मानिसहरू मेरा निम्ति फोहोर भएका छन्; तिनीहरू सबै आगोको भट्टीभित्र छोडिएका तामा, टिन, फलाम र सीसाका खार हुन्। तिनीहरू चाँदीका काम नलाग्ने फोहोर मात्र हुन्। 19यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरू सबै काम नलाग्ने फोहोर भएका कारण म तिमीहरूलाई यरूशलेममा भेला गर्नेछु। 20जसरी मानिसहरूले चाँदी, तामा, फलाम, सिसा र टिन भट्टीभित्र दन्केको ज्वालाले पगाल्नलाई बटुल्छन्; त्यसरी नै म तिमीहरूलाई मेरो रिस र मेरो क्रोधमा भेला गर्नेछु, र तिमीहरूलाई सहरभित्र हालेर पगाल्नेछु। 21म तिमीहरूलाई भेला गराउनेछु, र मेरो अग्निमय क्रोध तिमीहरूमाथि फुकिदिनेछु; अनि तिमीहरू त्यसभित्र पग्लिनेछौ। 22जसरी चाँदी आगोको भट्टीभित्र पग्लिन्छ, त्यसरी नै तिमीहरू त्यसभित्र पग्लिनेछौ; अनि तिमीहरूले म याहवेहले नै मेरो क्रोध तिमीहरूमाथि खन्याएको हुँ भनी जान्नेछौ।’ ”
23याहवेहको वचन फेरि मकहाँ आयो: 24“हे मानिसको छोरा, त्यो देशलाई भन्, ‘तँ एउटा यस्तो देश होस्, जो मेरो क्रोधको दिनमा सफा हुनेछैन, अथवा झरी पर्नेछैन।’ 25त्यसमा भएका अगमवक्ताहरूले#22:25 अथवा राजकुमारहरूले गर्जने सिंहले आफ्नो शिकार च्यातेझैँ एउटा षड्यन्त्र रच्दछन्; तिनीहरूले मानिसहरूलाई निल्छन्, तिनीहरूले धनसम्पत्ति र बहुमूल्य चीजहरू लुट्छन् र सहरभित्र धेरैलाई विधवा बनाउँछन्। 26त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन्, र मेरो पवित्र चीजहरूलाई अपवित्र पार्छन्; तिनीहरूले पवित्र र साधारण थोकहरू पनि छुट्याउँदैनन्; तिनीहरूले शुद्ध र अशुद्धमा केही भिन्नता छैन भनी सिकाउँछन्; अनि तिनीहरू शब्बाथहरू पालन गर्नलाई तिनीहरूका आँखा चिम्लन्छन्; यसैले म इस्राएलीहरूको बीचमा अपवित्र पारिएको छु। 27सहरभित्र भएका अधिकारीहरू आफ्ना शिकारलाई फहराउने ब्वाँसाहरूजस्ता छन्; तिनीहरूले रक्तपात गर्छन् र अन्यायपूर्वक फाइदा उठाउनका निम्ति मानिसहरूलाई मार्छन्। 28सहरका अगमवक्ताहरूले झूटा दर्शनहरू र झूटा जोखनाहरूद्वारा तिनीहरूका दुष्ट कामहरूमाथि सेतो चूना पोतिदिन्छन्। याहवेह तिनीहरूसित नबोल्नू भए तापनि ‘प्रभु याहवेह यसो भन्नुहुन्छ’ भनी तिनीहरू भन्छन्। 29देशका मानिसहरूले जबरजस्ती खोसेर लुट्ने काम गर्छन्; तिनीहरूले गरिब र खाँचोमा परेकाहरूमाथि अत्याचार गर्छन्; अनि विदेशीहरूसित दुर्व्यवहार गर्छन् र तिनीहरूलाई न्याय दिन इन्कार गर्छन्।
30“मैले तिनीहरूको बीचमा यस्तो एउटा मानिस खोजेँ, जसले पर्खाल बनाउँछ र देशको पक्षमा मेरो अगि धाँदोमा त्यो उभिनेछ, ताकि मैले त्यसलाई नाश नगरूँ, तर मैले एउटै पनि व्यक्तिलाई भेट्टाइनँ। 31यसकारण म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु; अनि तिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु, र तिनीहरूले गरेका सबै कामहरूको दण्ड तिनीहरूकै शिरमाथि ल्याइदिनेछु, प्रभु याहवेह भन्नुहुन्छ।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 22: NCV
हाइलाइट
कपी गर्नुहोस्
तुलना
शेयर गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.