इजकिएल 11

11
इस्राएलका अगुवाहरूमाथि दण्ड
1तब आत्माले मलाई माथि उठाएर याहवेहको भवनको पूर्वीय मूलढोकामा ल्याउनुभयो। त्यहाँ मूलढोकाको प्रवेशद्वारमा पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूमध्ये मैले मानिसहरूका अगुवाहरू अज्जूरका छोरा यजन्याह र बनायाहका छोरा पलत्याहलाई देखेँ। 2याहवेहले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, यी ती मानिसहरू हुन्, जसले सहरमा दुष्‍टता रच्दछन् र दुष्‍ट सल्‍लाह दिन्छन्। 3तिनीहरू भन्छन्, ‘के हाम्रा घरहरू हालसालै पुनर्निर्माण भएका होइनन् र? यो सहर एउटा कराहीजस्तै हो, र हामीचाहिँ यसमा राखिएको मासु हौँ।’ 4यसकारण तिनीहरूको विरुद्धमा अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गर्।”
5तब याहवेहको आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयो: “याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूले यसरी भनिरहेका त छौ, तर तिमीहरूका मनभित्र के सोचिरहेका छौ, सो म जान्दछु। 6तिमीहरूले यस सहरभित्र धेरै मानिसहरू मारेका छौ, र सहरका सडकहरू मानिसहरूका लासहरूले भरिदिएका छौ।
7“यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले सहरमा फ्याँकिदिएका लासहरू मासु हो, र यो सहरचाहिँ कराही हो; तर म तिमीहरूलाई यहाँबाट धपाइदिनेछु। 8तिमीहरू तरवारसँग डराउँछौ, तर म तिमीहरूको विरुद्धमा तरवार नै ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। 9म तिमीहरूलाई यस सहरबाट बाहिर धपाइदिनेछु; अनि तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूमाथि दण्ड ल्याउनेछु। 10तिमीहरू तरवारले मारिनेछौ, र इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ। 11यो सहर तिमीहरूका निम्ति कराही बन्‍नेछैन, न त तिमीहरू यसभित्र मासु नै बन्‍नेछौ; म इस्राएलका सिमानाहरूमा तिमीहरूको न्याय गर्नेछु। 12अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ; किनकि तिमीहरूले मेरा उर्दीहरू पालन गरेका छैनौ र आज्ञाहरू मानेका छैनौ; तर तिमीहरू आफ्ना चारैतिरका अन्य जातिहरूकै स्तरमा तिनीहरूका रीतिअनुसार चलेका छौ।”
13जब मैले अगमवाणी गरिरहेको थिएँ, बनायाहका छोरा पलत्याहको मृत्यु भयो। तब म भुइँमा घोप्टो परेँ र चर्को सोरले कराएँ, “हाय, प्रभु याहवेह! के तपाईंले इस्राएलको बाँकी रहेका मानिसहरूलाई पनि सम्पूर्ण रूपले नाश गर्नुहुनेछ?”
इस्राएललाई फर्काउने प्रतिज्ञा
14याहवेहको वचन मकहाँ आयो: 15“हे मानिसको छोरा, यरूशलेममा बसोबास गर्ने मानिसहरूले तेरा आफ्नै नातेदार निर्वासित यहूदी दाजुभाइहरू र इस्राएलका सम्पूर्ण घरानाहरूका विषयमा यसो भनेका छन्, ‘तिनीहरू याहवेहदेखि धेरै टाढा छन्; यो इस्राएल देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको हो।’
16“यसकारण भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जातिहरूको बीचमा टाढा पठाएँ, र तिनीहरूलाई अन्य देशहरूका बीचमा तितरबितर पारेँ; तर पनि तिनीहरू गएका देशहरूमा म केही समय तिनीहरूका निम्ति पवित्रस्थान बनिरहेँ।’
17“यसकारण निर्वासित इस्राएलीहरूलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तिमीहरूलाई जाति-जातिहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई छरपस्ट पारिएका देशहरूबाट फर्काएर ल्याउनेछु; अनि फेरि म तिमीहरूलाई इस्राएल देश फर्काइदिनेछु।
18“तिनीहरू इस्राएलमा फर्कनेछन् र यस देशका सबै घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरू हटाइदिनेछन्। 19म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु। 20त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्‍नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु। 21तर जसका हृदय तिनीहरूका घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरूको पछि लाग्छ, म तिनीहरूले गरेका कामहरूको दण्ड तिनीहरूकै शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
22तब करूबहरूले तिनीहरूका छेउमा भएका चक्‍काहरूसहित आफ्ना पखेटा फैलाए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्तिर थियो। 23याहवेहको महिमा सहरभित्रबाट माथि गयो र त्यस सहरको पूर्वतिरको पर्वतमाथि गएर अडियो। 24फेरि आत्माले मलाई माथि उठाउनुभयो र परमेश्‍वरका आत्माद्वारा दिनुभएको दर्शनमा बेबिलोनमा निर्वासित भएकाहरूको बीचमा मलाई ल्याउनुभयो।
तब मैले देखेको दर्शन मबाट माथि गइहाल्यो; 25याहवेहले मलाई देखाउनुभएको सबै कुरा मैले कैदमा लगिएका मानिसहरूलाई भनिदिएँ।

अहिले सेलेक्ट गरिएको:

इजकिएल 11: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्