एस्तर 2:5-11

एस्तर 2:5-11 NCV

शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए; उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए। मोर्दकैकी हदस्सा नाम भएकी एउटी बहिनी थिइन्। तिनका बुबाआमा कोही पनि थिएनन्। यसकारण मोर्दकैले नै तिनलाई हुर्काएका थिए। मोर्दकैले तिनका बुबाआमाको मृत्युपछि तिनलाई आफ्नी छोरीझैँ धर्म-पुत्री बनाएर राखेका थिए। तिनलाई एस्तर नामले पनि चिनिन्थ्यो; तिनी एउटी राम्रो जीउडाल भएकी सुन्दरी थिइन्। त्यसपछि जब राजाको आदेश र उर्दीको घोषणा भयो, तब शूशन राजधानीमा हेगेको जिम्मामा धेरै युवतीहरू भेला गराइए। तब एस्तरलाई पनि राजमहलमा ल्याइयो; अनि स्त्री-गृहको जिम्मावाल हेगेको जिम्मामा राखियो। एस्तरले हेगेलाई खुशी पारिन्, र तिनको निगाह प्राप्‍त गरिन्। तिनले तत्कालै एस्तरलाई सौन्दर्यका सामग्रीहरू र विशेष भोजनको प्रबन्ध गरिदिए। तिनले एस्तरलाई राजाको महलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। अनि तिनी र तिनका सहेलीहरूलाई स्त्री-गृहको विशेष सुविधा भएको ठाउँमा राखिदिए। एस्तरले आफ्नो जातीय पृष्‍ठभूमि र परिवारको बारेमा प्रकट गरेकी थिइनन्; किनकि मोर्दकैले तिनलाई त्यसै गर्न सल्‍लाह दिएका थिए। एस्तर कस्तो अवस्थामा छिन् र तिनलाई के-कसो हुँदैछ, सो पत्ता लगाउन मोर्दकै दिनहुँ त्यस स्त्री-गृहको आँगनबाट भएर ओहोर-दोहोर गर्थे।

एस्तर 2 पढ्नुहोस्