फिलिप्पीहरूलाई पावलको पत्र 3:15-21

फिलिप्पीहरूलाई पावलको पत्र 3:15-21 NERV

हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ। तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्। धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु। तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैंलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्। तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ। उहाँले हाम्रो दुर्बल शरीर बद्ली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।