रोमी 5:1-9

रोमी 5:1-9 सरल नेपाली

यसकारण हामी विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिएका छौं अनि हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा नै परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ। उहाँले हामीलाई विश्‍वासद्वारा परमेश्‍वरको अनुग्रहमा ल्‍याउनुभएको छ। अहिले हामी त्‍यही क्षमा दिने अनुग्रहमा छौं। हामीहरू परमेश्‍वरको महिमामा सहभागी हुने आशामा रमाउँछौं। त्‍यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्‍छ, दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं। हामी यस आशामा निराश हुनेछैनौं किनभने परमेश्‍वरले पवित्र आत्‍मा दिनुभएको छ र पवित्र आत्‍माले हाम्रो हृदयमा परमेश्‍वरको प्रेम भर्नुभएको छ। हामी आफैंले मुक्तिको निम्‍ति केही गर्न नसक्‍ने हुँदा नै ख्रीष्‍ट आफैं नै हामी पापीको निम्‍ति ठीक बेलामा मर्नुभयो। धर्मात्‍माको निम्‍ति कोही मुश्‍किलले मरिदेला। अति असल मानिसको सट्टामा पनि कसैले मर्ने साहस गर्ला। तैपनि परमेश्‍वरले उहाँको प्रेम हामीलाई यसरी देखाउनुभयो, हामी पापी छँदै हाम्रा लागि ख्रीष्‍ट मर्नुभयो। उहाँ बलिदान भएर आफ्‍नो रगतद्वारा हामीलाई परमेश्‍वरको सामु ठीक ठहराउनुभयो भने झन् बढी उहाँले हामीलाई परमेश्‍वरको क्रोधबाट बचाउनुहुन्‍छ।

रोमी 5 पढ्नुहोस्