सात आखिरी विपत्ति भएका सात बटुका समाउने सात जना स्वर्गदूतमध्ये एकले मलाई भने, “यता आऊ, म तिमीलाई ती दुलही, जो थुमाकी पत्नी हुन्, उनलाई देखाउँछु। त्यसपछि म आत्माले भरिपूर्ण भएँ र स्वर्गदूतले मलाई अग्लो पर्वतमा लगे। स्वर्गदूतले मलाई परमेश्वरबाट स्वर्गदेखि ओर्लिरहेको यो पवित्र सहर यरूशलेम देखाए। त्यो सहरचाहिँ परमेश्वरको महिमाले चम्किंदै थियो। त्यसको चमक एउटा बहुमूल्य रत्न, बिल्लौर जस्तै थियो। यो स्फटिकझैँ स्वच्छ थियो। त्यसको वरिपरि ठूलो अग्लो पर्खाल थियो। पर्खालका बाह्र ढोका थिए र हरेक ढोकाको हेरचाह एक-एक स्वर्गदूतले गर्थे। ती ढोकामा इस्राएलका बाह्र कुलका नाउँहरू लेखिएका थिए। पूर्वतिर तीन ढोका थिए, पश्चिमतिर तीन ढोका, उत्तरतिर तीन ढोका र दक्षिणतिर तीन ढोका थिए। सहरको पर्खालका बाह्रवटा जग थिए र तीमाथि थुमाका बाह्र जना प्रेरितका नाउँ लेखिएका थिए। मसित बोल्ने स्वर्गदूतको हातमा यो सहर, यसका ढोका र यसका पर्खाललाई नाप्न एउटा सुनको नाप्ने टाँगो थियो। यो सहर चारकुने थियो र यसको चौडाइ र लम्बाइ बराबर थियो। स्वर्गदूतले यस टाँगोले नाप्दा दुई हजार चार सय किलोमिटर लामो र त्यत्ति नै चौडा र त्यति नै उच्चाइ रहेछ। अनि स्वर्गदूतले सहरको पर्खाल नापे र उनको नापअनुसार यो साठी मिटर अग्लो थियो। पर्खालचाहिँ बिल्लौरले बनाइएको थियो अनि यो सहरचाहिँ शुद्ध सुनले बनेको र सफा काँचजस्तो चम्कने थियो। पर्खालको जग अनेक बहुमूल्य रत्नहरूले सिँगारिएका थिए। पहिलो जग बिल्लौरको थियो, दोस्रोचाहिँ नीरको, तेस्रो हरितमणिको, चौथो पन्नाको। पाँचौँ आनिक्सको, छैटौँ लालमणिको, सातौँ पीतमणिको, आठौँ बेरूजको, नवौँ पुष्पराजको, दशौँ लसुनेको, एघारौँ निलमणिको र बाह्रौँ कटेलाको थियो। ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। हरेक ढोका एउटै मोतीको थियो। त्यो सहरको सडक ऐनाजस्तै छर्लङ्गै देखिने शुद्ध सुनका थिए। सहरभित्र मैले कुनै मन्दिर देखिनँ किनभने मन्दिरचाहिँ प्रभु सर्वशक्तिमान् परमेश्वर र थुमा नै हुनुहुन्छ। त्यो सहरमा उज्यालो पार्न घाम र जूनको खाँचो पर्दैनथ्यो किनभने परमेश्वरको महिमा त्यहाँ चम्कन्छ र बत्तीचाहिँ थुमा नै हुनुहुन्छ। संसारका सबै मानिस उहाँको उज्यालोमा हिँड्नेछन् र सबैतिरका राजाहरूले आफ्ना धन-सम्मान् त्यहीँ ल्याउनेछन्। दिनभरि सहरका ढोका कहिल्यै बन्द हुनेछैनन् अनि रातचाहिँ त्यहाँ छँदैछैन। जाति-जातिका मानिसहरूले आ-आफ्ना मान-आदर र धन-दौलत सबै त्यहाँ ल्याउनेछन्। तर कुनै अशुद्ध थोक त्यहाँ पस्न पाउनेछैन। घिनलाग्दा कुरा गर्ने, झूटो कुरा गर्नेले यो सहरमा पस्न पाउनेछैन। थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्नेछन्।
प्रकाश 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 21:9-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू