भजनसंग्रह 143:1-12

भजनसंग्रह 143:1-12 सरल नेपाली

हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्! आफ्‍नो धार्मिकतामा मेरो बिन्‍ती सुन्‍नुहोस् र आफ्‍नो विश्‍वासयोग्‍यतामा मलाई उत्तर दिनुहोस्! म तपाईंको दासको परीक्षा नगर्नुहोस्, तपाईंको दृष्‍टिमा कोही पनि निर्दोष छैन। मेरा शत्रुले खेदेर मलाई भेटेको छ र मलाई पूरा जितेको छ। त्‍यसले मलाई अँध्‍यारो कोठामा कैद गरेको छ र म धेरै दिनको लाशजस्‍तै भएको छु। यसैले म शिथिल हुन लागेको छु। मेरो मनमा गहिरो पीडा छ। म बितेका दिनलाई सम्‍झँदछु, तपाईंले गर्नुभएको सबै कामहरूबारे सोच्‍दछु, तपाईंका सबै कामहरू म मनमा गुन्‍दछु। म प्रार्थनामा तपाईंतिर आफ्‍ना हात उचाल्‍दछु, सुखा जमिनजस्‍तै मेरो प्राण तपाईंको निम्‍ति तिर्खाएको छ। परमप्रभु, अहिले मलाई उत्तर दिनुहोस्! मैले सबै आशा हराएको छु। मदेखि आफैंलाई नलुकाउनुहोस्, नत्रता मृत्‍यु-लोकमा गएको जस्‍तै म हुनेछु। हरेक बिहान मलाई तपाईंको अटुट प्रेमको याद दिलाउनुहोस् किनभने म तपाईंमाथि भरोसा राख्‍दछु। मेरो प्रार्थना तपाईंकहाँ पुग्‍दछ, मैले हिँड्‍नुपर्ने बाटो मलाई देखाइदिनुहोस्। हे परमप्रभु, म आफ्‍नो सुरक्षाको लागि तपाईंकहाँ आउँछु, मलाई मेरा शत्रुहरूदेखि बचाउनुहोस्। तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ, मलाई तपाईंको इच्‍छाअनुसार चल्‍न सिकाउनुहोस्, ममाथि भलाइ गर्नुहोस् र कुशलको बाटोमा मलाई डोर्‍याउनुहोस्। आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्, हे परमप्रभु, तपाईं भलो हुनुभएको हुनाले मेरो दु:ख-कष्‍टदेखि मलाई बचाउनुहोस्। मप्रति भएको तपाईंको प्रेमको खातिर मेरा शत्रुहरूलाई मार्नुहोस् र मलाई सताउनेहरू सबैलाई नाश पार्नुहोस् किनभने म तपाईंको दास हुँ।

भजनसंग्रह 143 पढ्नुहोस्