ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्यान दे र तेरो लामो आयु हुनेछ। मैले तँलाई बुद्धिको बाटो देखाएको छु र सोझो बाटोमा हिँडाएको छु। तँ बुद्धिसित हिँडिस् भने तँलाई केही कुराले बाधा दिनेछैन र तँ दगुरिस् भने पनि लड्नेछैनस्। तैँले जे सिकेको छस्, त्यो सदा याद राख्, तैँले पाएको शिक्षा तेरो जीवन हो, त्यसलाई राम्ररी जोगाएर राख्। दुष्ट मानिसहरू गएको बाटो नपछ्या, दुष्टहरूको चालको नक्कल नगर्। त्यसो नगर्! दुष्ट्याइँदेखि टाढा बस्! त्यसबाट तर्केर आफ्नै बाटोमा हिँड्। दुष्टहरू केही खराबी नगरेसम्म निदाउन सक्दैनन्। कसैको हानि नगरेसम्म तिनीहरू सुत्न सक्दैनन्। दुष्ट्याइँ र हिँसा तिनीहरूका निम्ति खाने र पिउने कुरा हुन्। धर्मी हिँडेको बाटो घाम झुल्केजस्तो हो, त्यो पूरा उज्यालो नभएसम्म झन्-झन् चहकिलो हुँदैजाँदछ। दुष्ट हिँडेको बाटो रातको अँध्यारोजस्तै हो, तिनीहरू लड्छन् तर केमा ठोकिएर लड्दै छन्, सो देख्दैनन्। ए मेरो छोरो, मेरो कुरामा ध्यान दे। मेरा वचन सुन्। ती तँबाट उम्कन नदे, ती याद राख् र तेरो हृदयमा लिइराख्। मेरो कुरा बुझ्नेले जीवन र स्वास्थ्य प्राप्त गर्नेछ। आफ्ना सोचबारे होशियार बस्, तेरो सोचअनुसार तेरो जीवन बन्दछ। कहिले झूटा नबोल्, झूटा र छल-कपटका कुराहरूबाट अलग बस्। इमानदारी र विश्वासका साथ आफ्नो अघि सीधा हेर्, लाजले तेरो शिर निहुरिन नपरोस्। आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्यो ठीक हुनेछ। खराबीदेखि अलग बस्, सीधा अघि हिँड्। एक कदम दायाँ वा बायाँ नचाल्।
हितोपदेश 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 4:10-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू