फिलिप्पी 2:1-13

फिलिप्पी 2:1-13 सरल नेपाली

के ख्रीष्‍टमा भएको तिमीहरूको जीवनले तिमीहरूलाई हौसला दिएको छ? उहाँको प्रेमले तिमीहरूलाई सान्‍त्‍वना दिएको छ? तिमीहरूले पवित्र आत्‍माको संगति गर्छौ? के तिमीहरू एक-अर्कालाई दया र माया गर्छौ? त्‍यसो हो भने मलाई खुसी पार्न तिमीहरू एउटै विचार भएका, एउटै प्रेममा रहेका र एउटै चित्त भएका होओ भनी म तिमीहरूलाई बिन्‍ती गर्छु। आफ्‍नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्‍डको निम्‍ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्‍झ। आफ्‍नै मात्र होइन, अरूको पनि विचार गर। तिमीहरूको व्‍यवहार येशू ख्रीष्‍टको जस्‍तै होस्। उहाँ सधैँ परमेश्‍वरकै समान हुनुहुन्‍थ्‍यो। तर उहाँले बलजफती परमेश्‍वरसमान हुने विचारै पनि गर्नुभएन। उहाँले आफ्‍नै इच्‍छाले यी सबै त्‍याग्‍नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्‍तै मानिस भएर जन्‍मनुभयो। उहाँले नम्र भएर मृत्‍युसम्‍म, क्रूसकै मृत्‍युसम्‍म आज्ञा मान्‍नुभयो। त्‍यसो हुँदा परमेश्‍वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्‍च नाउँ दिनुभयो। यसरी स्‍वर्ग, पृथ्‍वी र पृथ्‍वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्‍नेछन्। येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनेर सबैले खुल्‍लमखुल्‍ला परमेश्‍वरको सम्‍मान्‌को निम्‍ति घोषणा गर्नेछन्। यसकारण प्‍यारा दाजुभाइहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले सधैँ मेरा कुराहरू मान्‍यौ, अहिले म टाढा हुँदा पनि तिमीहरूले मेरा कुराहरू मान्‍न झन् खाँचो छ। तिमीहरूले डरले काम्‍दै आफूले पाएको मुक्तिलाई व्‍यवहारमा लेओ किनभने परमेश्‍वरले तिमीहरूमा काम सधैँ गरिरहनुभएको छ। उहाँले नै तिमीहरूलाई उहाँको उद्देश्‍य पूरा गर्न मन र सामर्थ दिनुहुन्‍छ।

फिलिप्पी 2 पढ्नुहोस्