अय्‍यूब 37

37
1आँधी-बेहरीले मेरो मुटु साह्रै ढुकढुक पार्दछ।
2तपाईंहरू सबैले सुन्‍नुहोस्, उहाँको मुखबाट आएको गर्जन,
जो उहाँको आवाज हो।
3उहाँले आकाशको एक छेउबाट अर्को छेउसम्‍म,
पृथ्‍वीको एक कुनाबाट अर्को कुनासम्‍म बिजुली पठाउनुहुन्‍छ।
4तब गड्याङ-गुडुङको महागर्जनमा उहाँको हुँकार सुनिन्‍छ
र त्‍यस समय बिजुली चम्‍कन्‍छ।
5परमेश्‍वर उदेकको सोरमा गर्जनुहुन्‍छ,
उहाँले ठूल्‍ठूला काम गर्नुहुन्‍छ,
ती हामीले बुझ्‍नै सक्‍दैनौं।
6उहाँले हिउँलाई पृथ्‍वीमा बर्सने आज्ञा गर्नुहुन्‍छ
र भारी बृष्‍टिको धारा बर्साउनुहुन्‍छ।
7उहाँले बनाउनुभएका मानिसहरू सबैले उहाँको काम जानून् भनेर
उहाँले सबै मानिसहरूका हातका काम बन्‍द गर्नुहुन्‍छ।
8तब बन-पशुहरू आ-आफ्‍ना
गुफामा पस्‍छन्।
9आँधी आफ्‍नो स्‍थानबाट आउँदछ,
बतासले औधी कडा जाडो ल्‍याउँदछ।
10परमेश्‍वरको सासले पानीलाई जमाउँदछ,
र कडा वरफ बनाइदिन्‍छ।
11बाक्‍लो बादलमा उहाँले जलका कणहरू भर्नुहुन्‍छ
र त्‍यस बेला मेघबाट बिजुली चम्‍कन्‍छ।
12ती बादलहरू परमेश्‍वरको इच्‍छाअनुसार उडिहिँड्छन्।
पृथ्‍वीको हरेक स्‍थानमा उडेर गई तनले उहाँका आज्ञापालन गर्छन्।
13परमेश्‍वरले पृथ्‍वी भिजाउन वर्षा पठाउनुहुन्‍छ।
मानिसलाई दण्‍ड दिन वा कृपा देखाउनलाई पनि बृष्‍टि दिनुहुन्‍छ।
14एकछिन पर्खनुहोस्, अय्‍यूब, र सुन्‍नुहोस्,
परमेश्‍वरले गर्नुभएका उदेकका कामहरूमाथि विचार गर्नुहोस्।
15के तपाईं जान्‍नुहुन्‍छ कि
कसरी परमेश्‍वरले बादललाई आफ्‍नो वशमा राख्‍नुहुन्‍छ
र तीबाट बिजुली चम्‍काउनुहुन्‍छ?
16परमेश्‍वरको उदेकको सीपको काम,
आकाशमा बादल उडाउने काम कसरी हुँदछ, के तपाईंलाई थाहा छ?
17अँहँ, दक्षिणको बतासले देशमा चारैतिर सुनसान गराएको बेलामा
तपाईं त गर्मीले व्‍याकुल हुनुहुन्‍छ।
18के तपाईंले आकाश मण्‍डललाई
परमेश्‍वरले जस्‍तै कडा धातुको ऐनासरि टल्‍कने बनाएर
चारैतिर फैलाउन सक्‍नुहुन्‍छ?
19परमेश्‍वरलाई कसो भन्‍नुपर्ने हो, हामीलाई सिकाउनुहोस्
किनभने अज्ञानताले गर्दा हामीले सोच्‍न पनि सक्‍दैनौं।
20उहाँसित कुरा गर्न चाहन्‍छु भनी म भन्‍दिनँ।
म आफैं परमेश्‍वरद्वारा नाश पारिएको चाहन्‍नँ।
21बतासले आकाश सफा गरेपछि उज्‍यालो चम्‍किरहेको हुन्‍छ
र हामीले त्‍यसलाई हेर्न सक्‍दैनौं।
22उत्तर दिशामा एउटा सुनौलो चमक देखापर्छ
र हाम्रो हृदयलाई परमेश्‍वरको महिमाले भयभीत पार्दछ।
23परमेश्‍वरको शक्ति यति महान् छ कि हामीले भेट्टाउन सक्‍दैनौं।
आफ्‍नो न्‍याय र धार्मिकतामा उहाँले मानिसहरूसित व्‍यवहार गर्नुहुन्‍छ।
24यसकारण सबै मानिसहरूले उहाँको भय मान्‍छन्।
आफूलाई बुद्धिमान् ठान्‍नेहरूलाई उहाँले वास्‍ता गर्नुहुन्‍न।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 37: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्