उत्पत्ति 19:1-26
उत्पत्ति 19:1-26 सरल नेपाली
त्यस बेलुका ती दुई स्वर्गदूतहरू सदोम आइपुग्दा लोत सहरको मूल-ढोकानिर बसिरहेका थिए। तिनीहरूलाई देख्ने बित्तिकै उनी उठे र तिनीहरूलाई भेट्न गए। तिनीहरूको सामु उनले शिर निहुराए र भने, “हजुरहरू हो, हजुरका सेवा गर्नलाई म यहाँ छु। मेरो घरमा पाल्नुहोस्। हातपाउ धोई राती बास बस्न सक्नुहुन्छ। बिहान सखारै उठेर आफ्नो बाटो लाग्नुहोस्।” तर तिनीहरूले उत्तर दिए, “होइन, हामी यहाँ सहरका चोकमा रात बिताउनेछौं।” उनले तिनीहरूलाई बिन्ती गरिरहे र अन्तमा तिनीहरू उनीसँग उनको घर गए। लोतले आफ्ना चाकरहरूलाई पाहुनाका निम्ति केही रोटी बनाएर असल खाना तयार गर्न लाए। खाना तयार भएपछि तिनीहरूले खाए। पाहुनाहरू सुत्न जानुअघि सदोमका मानिसहरूले लोतको घर घेरे। बुढा, युवा र सहरका सबै मानिसहरू त्यहाँ थिए। तिनीहरूले लोतलाई डाकेर भने, “आज राती तिमीसित बास बस्न आउने मानिसहरू कहाँ छन्? तिनलाई हाम्रा सामु ल्याऊ।” सदोमबासीहरू ती दुईसँग शारीरिक सम्पर्क गर्न चाहन्थे। लोत बाहिर निस्के र ढोका आफ्नो पछिल्तिर थुनिदिए। र तिनीहरूलाई भने, “होइन, साथीहरू हो, म बिन्ती गर्छु, यस्तो खराबी काम नगर। हेर, मेरा दुई छोरीहरू छन्, तिनीहरू अझै कन्या नै छन्। म ती दुईलाई बाहिर निकालिदिनेछु। तिमीहरूलाई जे मन पर्छ, त्यो तिनीहरूसँग गर्न सक्छौ। तर यी मानिसहरूलाई केही नगर, यिनीहरू मेरो घरका पाहुना हुन् र मैले तिनीहरूको रक्षा गर्नैपर्छ।” तर तिनीहरूले भने, “हाम्रो बाटो छोड्, तँ बाहिरको मानिस होस्। हामीले के गर्नुपर्छ, त्यो हामीलाई सिकाउने तँ को होस्? हाम्रो बाटोदेखि हट्, नत्र, तिनीहरूलाई भन्दा अझै तँलाई हामी ठीक पार्नेछौं।” तिनीहरूले लोतलाई ठेलेर घचेटे र ढोका भत्काउन अघि बढे। तर ती दुई मानिसहरूले भित्रबाट हात बढाएर लोतलाई तानी लगे र ढोका थुनिदिए। त्यसपछि बाहिरका सबै मानिसहरूलाई अन्धा पारिदिए र तिनीहरूले ढोका भेट्टाउन सकेनन्। ती दुई मानिसहरूले लोतलाई भने, “यदि यहाँ तिम्रा अरू कोही छन् भने, यस सहरमा तिम्रा छोरा-छोरी, जुवाइँ वा अरू कोही नातेदारहरू छन् भने तिनीहरू सबैलाई यहाँबाट निकालिहाल किनभने हामी यस ठाउँलाई नाश पार्नेछौं। परमप्रभुले यी मानिसहरूका विरुद्धमा लगाएका डरलाग्दा दोषहरूका बारेमा सुन्नुभएको छ र हामीलाई सदोम सहर नाश गर्न पठाउनुभएको छ।” तब लोत आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने पुरुषहरूकहाँ गए र भने, “चाँडो गर र यहाँबाट निस्किहाल। परमप्रभुले यस ठाउँलाई नाश पार्नुहुनेछ।” तर लोतले ठट्टा गरेका होलान् भनी तिनीहरूले सोचे। मिरमिरे उज्यालो हुँदा ती स्वर्गदूतहरूले लोतलाई हतार गर्न लाए। तिनीहरूले भने “छिटो गर, तिम्री स्वास्नी र तिम्रा दुई छोरीहरूलाई साथमा लिई तिमी गइहाल। त्यसो भए, सहर नाश हुँदा तिमीहरूको ज्यानचाहिँ जानेछैन।” लोतले आले-टाले गरिरहे। तर परमप्रभुले उनलाई टिठ्याउनुभयो, यसकारण ती दुई मानिसहरूले तिनका, तिनकी स्वास्नीका र दुई छोरीहरूका हात समाती तानेर तिनीहरूलाई सहरदेखि बाहिर ल्याइदिए। तब एउटा दूतले भने, “ज्यान बचाउन दगुर। पछि फर्केर नहेर्नू अनि बेसीमा नअडिनू। दगुरेर पहाडतिर भाग र मात्र तिमीहरू मर्नेछैनौ।” तर लोतले जवाफ दिए, “होइन, हजुर, दया गरी त्यसो गर्न भनी हामीलाई नभन्नुहोस्। तपाईंहरूले ममाथि ठूलो कृपा गरेर ज्यान बचाइदिनुभयो। तर ती पहाडहरू धेरै टाढा छन्, यस विपत्तिले मलाई भेट्टाउनेछ र त्यहाँ पुग्नुभन्दा अघि नै मेरो ज्यान जानेछ। ऊ त्यो सहर देख्दै हुनुहुन्छ? (त्यो नजिकपर्छ।) मलाई त्यहीँ जान दिनुहोस्। त्यो एउटा सानो ठाउँ हो भनी देखिन्छ अनि म त्यहाँ कुशलसाथ रहनेछु।” उनले भने, “ठीक छ, हुन्छ। म त्यो सहर नाश गर्दिनँ। चाँडो गर, दगुर, तिमीहरू त्यहाँ नपुगुञ्जेल म केही गर्न सक्दिनँ।” लोतले त्यस सहरलाई सानो छ भनेको हुनाले त्यसको नाम सोअर राखियो। लोत सोअर पुग्दा घाम झुल्कँदैथ्यो। अचानक परमप्रभुले सदोम र गमोरा सहरमाथि गन्धकको आगो बर्साउनुभयो। ती सहरहरू, त्यहाँका सम्पूर्ण बेसी, त्यहाँ भएका सबै मानिसहरू र त्यहाँ उम्रेका सबै थोकहरूसमेत परमप्रभुले नाश पार्नुभयो। तर लोतकी स्वास्नीले पछि फर्केर हेरी र नुनको थाम भइहाली।

