प्रस्‍थान 1:11-22

प्रस्‍थान 1:11-22 सरल नेपाली

यसैकारण मिश्रीहरूले तिनीहरूमाथि निष्‍ठुरी मानिसहरू खटाए, जसले तिनीहरूलाई कठोर र गाह्रो काम लगाएर तिनीहरूको मनलाई मार्ने काम गर्थे। राजकीय सर-सामान भण्‍डारको लागि इस्राएलीहरूले पिताम र रामसेस सहरहरू बनाए। तर मिश्रीहरूले जति-जति इस्राएलीहरूलाई थिचोमिचो गरे, उति-उति तिनीहरूको सङ्‍ख्‍या बढ्यो र तिनीहरू देशमा झन्-झन् फैलँदै गए। मिश्रीहरू तिनीहरूसित डराउन थाले, निष्‍ठुरतासँग कमाराको काममा पेलेर इस्राएलीहरूको जीवन कष्‍टमय पारिदिए। घर निर्माण गर्ने काम र इँटाको काम अनि खेतको काममा तिनीहरूलाई मिश्रीहरूले जोत्‍दथे र केही दया गर्दैनथे। तब मिश्रका राजाले हिब्रू स्‍त्रीहरूलाई स्‍याहार्ने शिप्रा र पूआ नाम गरेका दुई सुँडेनीहरूसित कुरा गरे। उनले तिनीहरूलाई भने, “जब हिब्रू स्‍त्रीहरूले बच्‍चाहरू जन्‍माउँदा तिनीहरूलाई मद्दत गर्न तिमीहरू जान्‍छौ, तब छोरो जन्‍मियो भने त्‍यसलाई मारिदिइहाल्‍नू, छोरी जन्‍मियो भने जिउँदै छोडिदिनू।” तर ती सुँडेनीहरूले परमेश्‍वरको डर मान्‍थे र राजाको आज्ञा मानेनन्। तिनीहरूले छोराहरूलाई पनि जिउँदै छोडिदिए। यसकारण राजाले ती दुई सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले के गर्दै छौ? किन छोराहरू पनि जिउँदै छोड्दै छौ?” तिनीहरूले उत्तर दिए, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्‍ता छैनन्; तिनीहरूले सजिलै बच्‍चा जन्‍माउँछन्, हामी पुग्‍नुभन्दा अघि नै तिनीहरूले बच्‍चाहरू जन्‍माइसक्‍छन्।” ती सुँडेनीहरूले परमेश्‍वरको भय मानेका हुनाले उहाँले तिनीहरूको कल्‍याण गर्नुभयो र तिनीहरूलाई सन्‍तान दिनुभयो। इस्राएलीहरू बढ्दै र अझै शक्तिशाली हुँदैगए। अन्‍तमा राजाले सारा प्रजालाई यस्‍तो आज्ञा दिए, “हिब्रूहरूका भर्खर जन्‍मेका प्रत्‍येक बालकलाई नील नदीमा फालिदिनू तर छोरीहरूलाई छोडिदिनू।”

प्रस्‍थान 1 पढ्नुहोस्