प्रेरित 25:1-12

प्रेरित 25:1-12 सरल नेपाली

फेस्‍तस आफ्‍नो मुलुकबाट आएको तीन दिनपछि नै कैसरियाबाट यरूशलेम गए। त्‍यहाँ हुँदाखेरि मुख्‍य पूजाहारी र यहूदी नेताहरूले उनलाई पावलको विरोधमा आफ्‍ना कुरा सुनाए र पावललाई यरूशलेम पठाइदिनुहोस् भनी बिन्‍ती चढाए किनभने तिनीहरूले पावललाई बाटोमा आउँदाआउँदै मार्ने योजना बनाउँदै थिए। तर फेस्‍तसले तिनीहरूलाई यस्‍तो जवाफ दिए, “पावललाई कैसरियामै थुनिराखिएको छ र म पनि चाँडै त्‍यहाँ जाँदै छु। तिमीहरूमध्‍येको कोही शासकहरू मसँगै जान चाहन्‍छन् भने पठाइदेओ। यदि पावलले केही बिराएको छ भने तिनीहरूले त्‍यहाँ नै उजुर गर्न सक्‍छन्।” आठ-दश दिनसम्‍म यरूशलेममा बसेपछि फेस्‍तस कैसरियामा फर्किए। भोलिपल्‍टै उनले न्‍याय गर्ने ठाउँमा बसेर ‘पावललाई ल्‍याउनू’ भनेर हुकुम दिए। पावल आइपुगेपछि यरूशलेमबाट आएका यहूदीहरूले उनलाई चारैतिरबाट घेरेर थरी-थरीका दोष लगाए। तर तिनीहरूले कुनै पनि दोषको प्रमाण दिन सकेनन्। पावलले तिनीहरूलाई जवाफ दिँदै भने, “मैले न यहूदी धर्मशास्‍त्रको विरोधमा न मन्‍दिरको विरोधमा नता रोमी महाराजाको विरोधमा नै कुनै नराम्रो काम गरेको छु।” यहूदीहरूलाई खुसी पार्ने इच्‍छाले फेस्‍तसले पावललाई भने, “म तिमीलाई यरूशलेम पठाइदिन्‍छु अनि यी कुराको बारेमा म तिम्रो न्‍याय त्‍यहीँ नै गर्नेछु, हुँदैन र?” तर पावलले भने, “म रोमी महाराजाको न्‍यायालयको अगाडि उभिरहेको छु। यहीँ नै मेरो न्‍याय हुनुपर्छ। मैले यहूदीहरूको विरोधमा कुनै खराबी गरेको छैन भन्‍ने कुरा हजुरलाई पनि थाहा छ। यदि मैले ऐन-कानुनलाई मिचेको छु र ज्‍यानसजाय पाउनुपर्ने कुनै अपराध गरेको छु भने म मर्नलाई पनि तयार छु। तर यहूदीहरूले लगाएका कुनै पनि दोष साँचो छैन भने मलाई तिनीहरूको हातमा कसैले पनि सुम्‍पन सक्‍दैन। म रोमी महाराजाको अगाडि नै बिन्‍ती चढाउने अधिकार माग्‍छु।” तब फेस्‍तसले उनका सल्‍लाहकारहरूसँग सल्‍लाह गरे अनि पावललाई भने, “तिमीले महाराजाको अगाडि नै बिन्‍ती चढाउने माग गर्‍यौ। त्‍यसो हुँदा म तिमीलाई महाराजाकहाँ नै पठाइदिनेछु।”

प्रेरित 25 पढ्नुहोस्

प्रेरित 25:1-12 को लागि भिडियो