१ थेसलोनिकी 2:1-12

१ थेसलोनिकी 2:1-12 सरल नेपाली

दाजुभाइहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट त्‍यसै खेर गएन। यो त तिमीहरूलाई थाहै छ। त्‍यहाँ आउनुअघि फिलिप्‍पीका मानिसहरूले हामीहरूलाई दु:ख दिए र हाम्रो बेइज्‍जती नै गरे। यो कुरा पनि तिमीहरूलाई थाहै छ। तैपनि परमेश्‍वरले हामीहरूलाई साहस दिनुभयो र धेरै विरोधी हुँदाहुँदै पनि हामीहरूले तिमीहरूलाई सुसमाचार सुनाइछोड्यौं। हामीले सिकाएका शिक्षामा झूटो कुरा, नराम्रो विचारको वा कुनै छल-कपट थिएन। परमेश्‍वरले हामीलाई विश्‍वास गरेर नै सुसमाचार सुनाउने जिम्‍मा दिनुभयो। यसैकारण हामीहरू उहाँको इच्‍छामा बोल्‍छौं। हामी मानिसहरूलाई होइन तर हाम्रो मन जाँच्‍नुहुने परमेश्‍वरलाई खुसी पार्न चाहन्‍छौं। तिमीहरूलाई पनि राम्रैसँग थाहा छ, हामीले तिमीहरूसँग चापलुसे कुरा गरेनौं, नता कुनै कुरा पाउने लोभले नै यो गर्‍यौं। परमेश्‍वर नै यसको साक्षी हुनुहुन्‍छ। हामीले तिमीहरूबाट र अरू कुनै मानिसबाट प्रशंसा खोजेनौं। हुन त हामी ख्रीष्‍टको राजदूत भएकोले हामीलाई ठूलो हुने हक थियो। तर हामी केटा-केटीको हेर-विचार गर्ने धाईझैँ नम्र पो भयौं। साँच्‍चै तिमीहरूलाई हामीले माया गरेका छौं। तिमीहरूको यति धेरै माया लाग्‍छ कि परमेश्‍वरको सुसमाचार मात्र होइन, हाम्रो जीवनै दिन पनि तयार भएका थियौं। दाजुभाइहरू हो, तिमीहरूलाई याद छ, सुसमाचार सुनाउँदा पनि हामीले कसैलाई भार नपरोस् भनेर आफ्‍ना लागि रातदिन मरिमेटेर काम गर्‍यौं। तिमी विश्‍वासीसँग रहँदा हामी पवित्र, ठीक र निर्दोष भएर रह्यौं। यसको परमेश्‍वर र तिमीहरू आफैं साक्षी छौ। तिमीहरूलाई नै थाहा छ, बुबाले आफ्‍ना छोराछोरीलाई गरेझैँ तिमीहरूसँग हामीले व्‍यवहार गर्‍यौं। हामीले कसरी परमेश्‍वरको मनपर्दो बाटोमा हिंड्‍न तिमीहरूलाई साहस दियौं, जुन परमेश्‍वरले तिमीहरूलाई उहाँको राज्‍य र सम्‍मान्‌मा पस्‍न डाक्‍नुभएको हो।