रूथ 4:1-22

रूथ 4:1-22 NNRV

अब बोअज सहरको मूल ढोकामा गएर बसेका थिए। अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकका मोल तिरेर छुटकारा दिने नातेदार त्‍यहीँबाट भएर आए। बोअजले तिनको नाउँ काढ़ेर तिनलाई बोलाई भने, “यता आएर बस्‍नुहोस्‌।” तिनी आएर बसे। तब बोअजले सहरका दश जना धर्म-गुरुहरूलाई रोकेर बस्‍ने बिन्‍ती गरे। अनि तिनीहरू त्‍यहाँ बसे। तब बोअजले ती नजिकका नातेदारलाई भने, “हाम्रा दाजु एलीमेलेकको एक टुक्रा जमिनको विषयमा तपाईंलाई यादै होला। मोआबीहरूको देशबाट नाओमी फर्केर आएकी छिन्, र त्‍यो बेच्‍न तिनी चाहन्‍छिन्‌। यी मेरा जातिका धर्म-गुरुहरूका समक्षमा तपाईंले त्‍यो लिनुहोस्‌ भनी तपाईंसित यो कुरा उठाउने मैले विचार गरेको छु। नजिकको नातेदारको कर्तव्‍य तपाईं गर्नुहुन्‍छ भने गर्नुहोस्, तर गर्नुहुन्‍न भने मलाई भन्‍नुहोस्, र मलाई थाहा लाग्‍नेछ। किनभने तपाईंपछिको नजिकको नातेदार म हुँ।” तिनले भने, “नजिकको नातेदारको काम म गर्नेछु।” तब बोअजले भने, “नाओमी र मोआबी रूथबाट त्‍यो जमिन लिएको दिन मरेका मानिसको पैतृक-सम्‍पत्तिसँग तिनको नाउँ कायम राख्‍नलाई ती मरेका मानिसकी पत्‍नी पनि तपाईंले प्राप्‍त गर्नुहुनेछ।” यो सुनेर ती नजिकको नातेदारले भने, “म आफै यो काम गर्न सक्‍दिनँ, किनभने मेरो आफ्‍नै पैतृक-सम्‍पत्ति गुमाउने मलाई डर छ। यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईंले गर्नुहोला। म यो काम गर्न सक्‍दिनँ।” प्राचीन समयमा जग्‍गाजमिन मोल तिरेर लिँदा वा सट्टापट्टा गर्दा, दिने मानिसले आफ्‍नो जुत्ता फुकालेर लिने मानिसलाई दिने चलन थियो। इस्राएलमा पक्‍का गर्ने रीति यस्‍तै थियो। यसैले ती नजिकको नातेदारले बोअजलाई भने, “तपाईंले आफ्‍नै निम्‍ति त्‍यो किन्‍नुहोस्‌।” अनि तिनले आफ्‍नो जुत्ता फुकाले। तब बोअजले ती धर्म-गुरुहरू र अरू सबै मानिसहरूलाई भने, “मैले आजको दिन एलीमेलेक अनि महलोन र किल्‍योनका जे-जति छन्‌ सो सबै नाओमीको हातबाट प्राप्‍त गरेको कुरामा तपाईंहरू साक्षी हुनुहुन्‍छ। यसबाहेक महलोनकी पत्‍नी मोआबी रूथलाई पनि ती मरिसकेका मानिसको पैतृक-सम्‍पत्तिसँग तिनको नाउँ कायम राख्‍नलाई तिनका नातेदारहरूका बीचबाट र सहरको खाताबाट तिनको नाउँ नमेटिओस्‌ भनेर मैले आफ्‍नी पत्‍नी हुनलाई प्राप्‍त गरेको छु। तपाईंहरू आजको दिन साक्षी हुनुहुन्‍छ।” तब धर्म-गुरुहरू र मूल ढोकामा हुने सबैले भने, “हामी साक्षी छौं। तपाईंको घरमा आउने यी स्‍त्रीलाई परमप्रभुले इस्राएलको घराना निर्माण गर्ने राहेल र लेआजस्‍तै तुल्‍याऊन्‌। एप्रातामा तपाईंको कदर होस्, र बेथलेहेममा तपाईंको नाउँ प्रसिद्ध रहोस्‌। अनि परमप्रभुले तपाईंलाई यस युवतीबाट दिने सन्‍तानको घराना तामारले यहूदाबाट जन्‍माएका छोरा फारेसको घरानाजस्‍तै होस्‌।” यसरी बोअजले रूथलाई लगे, र तिनलाई आफ्‍नी पत्‍नी तुल्‍याए। जब उनीहरूको सहवास भयो तब परमप्रभुको कृपाले तिनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्‍माइन्‌। तब स्‍त्रीहरूले नाओमीलाई भने, “परमप्रभु धन्‍यका हुनुहुन्‍छ। किनभने आज उहाँले तपाईंलाई एउटा नजिकको नातेदारविना छोड्‌नुभएन। यसको नाउँ इस्राएलमा प्रसिद्ध रहोस्‌। यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईंको बुढ़ेसकालमा तपाईंको पालनपोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्‍दा पनि असल भएकी, तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्‍माएकी हुन्‌।” नाओमीले त्‍यस बालकलाई लिएर आफ्‍नो काखमा राखिन्‌ र तिनी त्‍यसकी धाई पनि भइन्‌। तिनका छिमेकीहरूले भने, “नाओमीको एक जना छोरो भयो।” अनि उनीहरूले त्‍यसको नाउँ ओबेद राखे। तिनी नै यिशैका बुबा र दाऊदका बाजे थिए। फारेसको वंशावली यही हो: फारेस हेस्रोनका पिता भए। हेस्रोन आरामका पिता भए। आराम अम्‍मीनादाबका पिता भए। अम्‍मीनादाब नहशोनका पिता भए। नहशोन सल्‍मोनका पिता भए। सल्‍मोन बोअजका पिता भए। बोअज ओबेदका पिता भए। ओबेद यिशैका पिता भए। यिशै दाऊदका पिता भए।