रोमी 3:9-20

रोमी 3:9-20 NNRV

उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्‍य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्‍यजातिहरू दुवै पापको वशमा छन्‌ भनी मैले दोष लगाइसकेको छु। जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्‍ने कोही छैन, परमेश्‍वरलाई खोज्‍ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्‍मा भएका छन्‌। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।” “तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्‍ना जिब्राले छलका कुरा गर्छन्‌।” “सर्पको विष तिनीहरूका ओठमा छ।” “तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्‌।” “तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्‌। विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्, र शान्‍तिको बाटो तिनीहरूले चिनेका छैनन्‌।” “तिनीहरूका आँखाको सामने परमेश्‍वरको भय छैन।” अब हामी जान्‍दछौं, जे-जति व्‍यवस्‍थाले भन्‍छ, व्‍यवस्‍थामुनि हुनेहरूलाई नै भन्‍छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्‍वरको अगि जवाफदेही होस्‌। यसैकारण व्‍यवस्‍थाको कर्मले कोही प्राणी उहाँको दृष्‍टिमा धर्मी ठहरिनेछैन, किनकि व्‍यवस्‍थाद्वारा नै पापको चेतना हुन्‍छ।