रोमी 3:1-8
रोमी 3:1-8 NNRV
अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल? हरप्रकारले यसमा ज्यादै लाभ छ। सर्वप्रथम त परमेश्वरको वाणी यहूदीहरूलाई सुम्पिएको हो। यदि तिनीहरूमध्ये कसैकसैले विश्वास गरेनन् भने, के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई रद्द तुल्याउँछ र? त्यसो नहोस्, परमेश्वर सत्य र हरेक मानिस झूटो ठहरिओस्। जस्तो लेखिएको छ, “तपाईं आफ्ना वचनमा ठीक ठहरिनुहोस्, र इन्साफ हुँदा तपाईं विजयी हुनुहोस्।” तर हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई प्रकाशमा ल्याउँछ भने, हामी के भनौं? के परमेश्वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्याय गर्नुहुन्छ? (म मानिसले जस्तै तर्क गर्दछु।) कदाचित् होइन! त्यसो भए, परमेश्वरले संसारको इन्साफ कसरी गर्न सक्नुहुन्थ्यो र? तर यदि मेरो झूटले गर्दा परमेश्वरको सत्यता उहाँकै महिमाको निम्ति प्रशस्त हुन्छ भने, किन पापीझैँ इन्साफमा परिरहेको छु? त्यसो भए, असल होस् भनेर खराबी नै किन नगर्ने त? कोही-कोही मानिसहरूले हामी त्यसै भन्छौं भनी हामीलाई निन्दापूर्ण दोष लाउँछन्। तिनीहरूको दोषारोपण न्यायसङ्गतै छ।

