हितोपदेश 24:11-22

हितोपदेश 24:11-22 NNRV

मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्‌। यदि तँ भन्‍छस्, “हामीलाई त यसबारे केही थाहै भएन,” के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्‍याल राख्‍नुहुन्‍न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाहा हुँदैन र? के उहाँले हरेक व्‍यक्तिलाई त्‍यसको कामअनुसार बदला दिनुहुन्‍न र? हे मेरो छोरा, मह खा, किनभने त्‍यो असल हुन्‍छ, चाकाबाटको महको स्‍वाद तँलाई गुलियो हुन्‍छ। यो पनि याद राख्‌ कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ। यसलाई तैंले प्राप्‍त गरिस्‌ भने, तेरो भविष्‍यको लागि आशा छ, र तेरो आशा व्‍यर्थै जानेछैन। धर्मी मानिसका घरको विरुद्ध दुष्‍टले ढुकेझैँ ढुकी नबस्, त्‍यसको वासस्‍थानमाथि छापा नमार्, किनभने धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्‌छ, तर दुष्‍टहरूलाई विपत्तिले नाश गरिदिन्छन्। तेरो शत्रुको पतन हुँदा नरमा, त्‍यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्, नत्रभने परमप्रभुले देख्‍नुहुनेछ र असहमति जनाउनुहुनेछ, र त्‍यसदेखि आफ्‍नो क्रोध हटाउनुहुनेछ। दुष्‍ट मानिसहरूको कारण पीर नमान्, वा दुष्‍टप्रति डाही नबन्, किनभने दुष्‍ट मानिसका भविष्‍यको आशा हुँदैन, र दुष्‍टको बत्ती निभाइनेछ। हे मेरो छोरा, परमप्रभुको र राजाको डर राख्, र विद्रोहीहरूसँग नमिल्, किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्‍कासि सर्वनाश पठाउनुहुनेछ। र कस्‍ता विपत्तिहरू उहाँहरूले पठाउनुहोला भनी कसलाई थाहा हुन्‍छ र?