गन्ती 4
4
कहातीहरू
1परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 2“लेवीहरूमध्येबाट कहातीहरूलाई आ-आफ्नो वंश र परिवारअनुसार गन्ती गर्। 3ती भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई गन्ती गर्।
4“भेट हुने पालमा अति पवित्र कुराहरूको जिम्मा लिने कहातीहरूको काम हो। 5छाउनी प्रस्थान गर्दा हारून र त्यसका छोराहरू भित्र गएर छेक्ने पर्दा उतारी गवाहीको सन्दूक त्यसैले ढाकिदेऊन्। 6तिनीहरूले त्यसमाथि सीलको छाला हालिदेऊन्, अनि त्यसमाथि पूरै नीलो रङ्गको कपड़ाले ढाकिदेऊन्।
7“तिनीहरूले उपस्थितिका रोटीको टेबिलमाथि एउटा नीलो कपड़ा ओछ्याई त्यसमाथि थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राखून्, र सधैँ त्यहीँ रहने रोटी त्यसमाथि रहोस्। 8तिनीहरूले तीमाथि रातो रङ्गको कपड़ा ओछ्याई त्यसमाथि सीलका छाला हालिदेऊन्, र टेबिलका डन्डीहरू लगाइदेऊन्।
9“तिनीहरूले नीलो कपड़ा लिएर बत्तीको सामदान, त्यसका बत्तीहरू र त्यसका सलेदाका चिम्टा, मोसोदानी र सबै तेलका भाँड़ाहरू ढाकिदेऊन्। 10त्यसपछि तिनीहरूले सामदानलाई त्यसका सबै सरसामानहरूसमेत सीलको छालाले बेह्रेर डाँड़ीमाथि राखिदेऊन्।
11“तिनीहरूले सुनको वेदीमाथि नीलो कपड़ा ओछ्याएर सीलको छालाले ढाकिदेऊन्, र त्यसका डन्डीहरू आफ्ना स्थानमा हालिदेऊन्।
12“पवित्रस्थानमा तिनीहरूले प्रयोग गर्ने सबै सेवाका सामानहरू लिएर तिनलाई नीलो कपड़ामा राखी सीलको छालाले ढाकेर तिनलाई डाँड़ीमाथि राखिदेऊन्।
13“तिनीहरूले काँसाको वेदीबाट खरानी झिकेर त्यसमाथि बैजनी रङ्गको कपड़ा ओछ्याऊन्। 14त्यसमाथि तिनीहरूले वेदीको सेवा गर्दा प्रयोग गर्ने सबै भाँड़ाहरू, अर्थात् आगो राख्ने पात्रहरू, मासु उठाउने काँटाहरू, बेल्चाहरू, छर्कने बाटाहरू र वेदीका सबै भाँड़ाकुँड़ाहरू राखिदेऊन्, र त्यसमाथि तिनीहरूले सीलको छाला ओछ्याएर त्यसका डन्डीहरू आफ्ना स्थानमा राखून्।
15“छाउनी प्रस्थान हुने बेलामा हारून र त्यसका छोराहरूले पवित्रस्थानका सबै पवित्र सरसामानहरू ढाकेपछि कहातीहरूले ती बोक्न आऊन्। तर तिनीहरूले पवित्र कुराहरू नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्। भेट हुने पालका सबै कुराहरू कहातीहरूले बोकून्।
16“हारून पूजाहारीको छोरो एलाजारको जिम्मामा सुम्पिएका कुराहरू यी नै हुन्: बत्तीको लागि तेल, सुगन्धित धूप, नियमितको अन्नबलि, अभिषेक गर्ने तेल— सिङ्गै पवित्र वासस्थान र त्यसमा भएका सबै सरसामानहरू।”
17परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 18“लेवीहरूबाट कहातीका वंशहरू बहिष्कृत हुन नदेओ। 19तिनीहरू अति पवित्र कुराहरूको नजिक आउँदा नमरून् भनेर यो तिनीहरूका लागि गर्: हारून र त्यसका छोराहरू पवित्रस्थानभित्र गएर तिनीहरू हरेकलाई आ-आफ्नो काम र के-के बोक्ने खटाइदेऊन्। 20तर कहातीहरू पवित्र कुराहरू हेर्न एक छिनको निम्ति पनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।”
गेर्शोनीहरू
21परमप्रभुले मोशालाई भन्नुभयो, 22“गेर्शोनीहरूलाई पनि आ-आफ्ना परिवार र वंशअनुसार गन्ती गर्। 23भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई तैंले गन्ती गर्।
24“भारी बोक्न र सेवा गर्नलाई गेर्शोनी वंशहरूको काम यही हो: 25पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, र त्यसमाथि रहने सीलका छालाको छत, र भेट हुने पालको ढोकाको पर्दा, 26पवित्र वासस्थान र वेदीका चारैतिरको चोकका पर्दाहरू, त्यसको ढोकाको पर्दा, डोरीहरू, र तिनको सेवामा प्रयोग गरिने सबै सरसामानहरू तिनीहरूले बोकून्। यी सबै कुराबाट जे-जे काम हुन्छन्, ती पनि गेर्शोनीहरूले नै गरून्। 27तिनीहरूका सबै सेवाहरू, वा भारी उठाउने काम होस् वा अन्य काम होस्, ती सबै हारून र त्यसका छोराहरूले आज्ञा गरेबमोजिम गेर्शोनीहरूले गरून्। तिनीहरूको सबै अभिभारा तिमीहरूले नै खटाइदेओ। 28भेट हुने पालमा गेर्शोनका वंशहरूको काम यही हो। तिनीहरूको जिम्मेवारी हारून पूजाहारीको छोरो ईतामारको अधिकारमा होस्।
मरारीहरू
29“मरारीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार तैंले गन्ती गर्। 30भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई तैंले गन्ती गर्। 31भेट हुने पालमा तिनीहरूले गर्नुपर्ने कर्तव्यहरू यी नै हुन्: पवित्र वासस्थानका फल्याकहरू, त्यसका बारहरू, डन्डीहरू, खामाहरू र आधारहरू, 32साथै चारैतिरको चोकका खामाहरू, र तिनका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सरसामान, र यिनीहरूको प्रयोगसम्बन्धी सब कुराहरू तिनीहरूले बोकून्। तिनीहरूमध्ये प्रत्येकलाई आफैले बोक्ने निश्चित सरसामानहरू खटाउनू। 33भेट हुने पालमा मरारी वंशहरूले हारून पूजाहारीको छोरो ईतामारको निर्देशनमा गर्नुपर्ने सेवा यही हो।”
लेवीहरूको गणना
34मोशा, हारून र समुदायका नायकहरूले कहातीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार गन्ती गरे। 35तीसदेखि पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए, 36ती वंश-वंश गरी गनिएकाहरू जम्मा २,७५० थिए। 37मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने सबै कहातीहरूको जम्मै संख्या यही थियो।
38गेर्शोनीहरू आ-आफ्ना वंश र परिवारअनुसार गनिएका थिए। 39तीसदेखि पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए, 40ती वंश-वंश र परिवार-परिवार गरी गनिएकाहरू जम्मा २,६३० थिए। 41परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने गेर्शोनीहरूको जम्मै संख्या यही थियो।
42मरारीहरू आ-आफ्ना वंश र परिवारअनुसार गनिएका थिए। 43तीसदेखि पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए, 44ती वंश-वंश गरी गनिएकाहरू जम्मा ३,२०० थिए। 45मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका मरारीहरूको जम्मै संख्या यही थियो।
46यसरी मोशा, हारून र इस्राएलका नायकहरूले सबै लेवीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार गन्ती गरे। 47तीसदेखि लिएर पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालमा सेवा गर्ने र भारी बोक्ने काममा नियुक्त भएका थिए, 48ती गनिएकाहरू जम्मा ८,५८० थिए। 49आ-आफ्नो सेवा र भारी बोक्ने कामअनुसार मोशाद्वारा परमप्रभुको आज्ञाबमोजिम तिनीहरू नियुक्त भएका थिए।
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले तिनीहरूलाई गने।
अहिले सेलेक्ट गरिएको:
गन्ती 4: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012