मत्ती 28:1-7
मत्ती 28:1-7 NNRV
शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। ठूलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुलीजस्तो र पोशाक हिउँजस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्नुभएको छ, र उहाँ तिमीहरूभन्दा अगाडि गालीलमा जाँदैहुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”

