मत्ती 26:17-30
मत्ती 26:17-30 NNRV
अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाड़को भोज खाने प्रबन्ध हामी कहाँ गरौं?” उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ। म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए। साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।” तब तिनीहरू साह्रै दुःखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, “प्रभु, के त्यो म हुँ?” अनि उहाँले भन्नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखेबमोजिम जानेछ। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुनेथियो।” तब उहाँलाई पक्राइदिने यहूदाले सोध्यो, “गुरुज्यू, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैले भन्यौ।” तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। तर म तिमीहरूलाई भन्दछु, कि दाखको यस फलबाट म तबसम्म पिउनेछैनँ, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।” एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्केर जानुभयो।

