मत्ती 17:22-27
मत्ती 17:22-27 NNRV
उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिइनेछ। अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।” अनि तिनीहरू अत्यन्त दुःखित भए। जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर भने, “के तिमीहरूका गुरुले तिरो तिर्दैनन्?” तिनले भने, “हो, तिर्नुहुन्छ।” पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले महसूल वा कर कोबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि अरूहरूबाट?” “अरूहरूबाट,” पत्रुसले जवाफ दिए। येशूले तिनलाई भन्नुभयो, “उसो भए छोराहरूले त छुट पाएका रहेछन्। तर तिनीहरू हामीबाट नचिढ़िऊन् भन्ने हेतुले, समुद्रमा गएर बल्छी हान, र पहिले परेको माछा ल्याऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रो र मेरो निम्ति तिनीहरूलाई देऊ।”

