यहूदा 1

1
1येशू ख्रीष्‍टको दास, याकूबको भाइ यहूदाबाट— बोलाइएकाहरू, अर्थात्‌ परमेश्‍वर पितामा प्रियहरू र येशूको निम्‍ति ख्रीष्‍टमा सुरक्षित राखिएकाहरूलाई:#मत्ती १३:५५; मर्क ६:३
2कृपा, शान्‍ति र प्रेम तिमीहरूमा प्रशस्‍त हुँदैजाओस्‌।
ईश्‍वरहीन मानिसहरूको पाप र अन्‍त्‍य
3प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्‍न म साह्रै उत्‍सुक भएको छु, त्‍यसैले सन्‍तहरूलाई सदाकालको निम्‍ति सुम्‍पिएको विश्‍वास रक्षा गर भन्‍ने निवेदन गर्न तिमीहरूलाई लेख्‍न मैले आवश्‍यक ठाने। 4किनकि धेरै अघिदेखि नै दण्‍डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्‍त रूपले तिमीहरूका माझमा पसिसकेका छन्‌। यिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्‍वामी र प्रभु, येशू ख्रीष्‍टलाई इन्‍कार गर्छन्‌।
5तिमीहरूले यी सब कुरा एक पल्‍ट जानेकै थियौ, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहन्‍छु, कि मिश्रदेशबाट बचाएर ल्‍याइएका मानिसहरूमध्‍ये विश्‍वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्‍ट पार्नुभयो।#गन्ती १४:२९-३०; प्रस १२:५१ 6आफ्‍नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्‍थान त्‍याग्‍ने स्‍वर्गदूतहरूलाई उहाँले पातालको अन्‍धकारमा न्‍यायको त्‍यस ठूलो दिनसम्‍म अनन्‍त बन्‍धनमा राख्‍नुभएको छ, 7जसरी सदोम र गमोरा र तिनका आसपासका सहरहरू, जुनहरू व्‍यभिचार गरेर#उत १९:१-२४ अस्‍वाभाविक कामवासनामा फसेका थिए, तिनीहरू अनन्‍त अग्‍निको दण्‍ड भोगेर उदाहरण बनेका छन्‌।
8त्‍यसै गरी सपना देख्‍ने यी मानिसहरूले आफ्‍ना शरीरलाई अशुद्ध तुल्‍याउँछन्, अधिकार इन्‍कार गर्छन्‌ र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्छन्‌। 9तर प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्‍यसलाई निन्‍दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्‍काऊन्” भनेथे।#व्‍य ३४:६; दान १०:१३,२१; १२:१; प्रका १२:७; जक ३:२ 10तर आफूले नबुझेका कुराहरूको यिनीहरू ठट्टा गर्छन्, र निर्बुद्धि पशुहरूले झैँ प्राकृतिक ज्ञानले जान्‍ने कुराहरूद्वारा नै यिनीहरूको विनाश हुन्‍छ।
11तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू कयिनको चालमा हिँड्‌छन्, लाभको खातिर बालामको भूलमा फस्‍दछन्‌ र कोरहको विद्रोहमा जस्‍तै नष्‍ट हुन्‍छन्‌।#गन्ती २२:१-३५; १६:१-३५; उत ४:३-८
12तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन्‌। किनकि यिनीहरू आफ्‍नै मात्र ख्‍याल राखी धन्‍दै नमानी बेसरी खान्‍छन्‌ र पिउँछन्‌। तिनीहरू बतासले उड़ाइलैजाने पानीविनाको बादलसरह छन्, हिउँदका फलहीन वृक्षजस्‍ता, जो दुई पल्‍ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्‍छन्‌। 13तिनीहरू समुद्रका उर्लदा छालहरूजस्‍तै हुन्, जसले तिनीहरूका आफ्‍नै निर्लज्‍जताको फीँज उकेल्‍छन्‌। यी बत्तिएका दिशाहीन ताराहरूजस्‍ता छन्, जसका निम्‍ति पातालको अन्‍धकार अनन्‍तको लागि राखिएको छ।
14आदमदेखि सातौँ पुस्‍ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्‍तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्‍ना असंख्‍य पवित्र जनहरूसँग आउनुभयो,#उत ५:१८,२१-२४ 15सबैको इन्‍साफ गर्न, सबै मानिसहरूलाई दण्‍ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन्, र ती भक्तिहीन मानिसहरूलाई दण्‍ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्‌।” 16फतफताउनेहरू, असन्‍तोषीहरू, आफ्‍ना कुइच्‍छाअनुसार हिँड्‌नेहरू, घमण्‍डी कुरा बोल्‍नेहरू र लाभको निम्‍ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्‌।
लगनशील बन्‍ने आग्रह
17तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्‍झ। 18तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्‍नै भक्तिहीन वासनाको पछि लागेर गिल्‍ला गर्नेहरू हुनेछन्‌।”#२ पत्र ३:३ 19फूट ल्याउ‍नेहरू, सांसारिक मानिसहरू र पवित्र आत्‍मा नभएका मानिसहरू यिनै हुन्‌।
20तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्‍वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्‍मामा प्रार्थना गर। 21आफैलाई परमेश्‍वरको प्रेममा राख र अनन्‍त जीवनको निम्‍ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। 22दोधारमा हुनेहरूलाई दया देखाओ, 23अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै-कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्‍वभावद्वारा अपवित्र भएका वस्‍त्रसमेत घृणा गर।
आशीर्वादको प्रार्थना
24अब, जसले तिमीहरूलाई पापमा फस्‍नदेखि बचाउन सक्‍नुहुन्‍छ, र जसले तिमीहरूलाई आनन्‍दसहित उहाँकै महिमाको सामने निष्‍कलङ्क प्रस्‍तुत गर्न सक्‍नुहुन्‍छ, 25उही एकमात्र परमेश्‍वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्‍व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्‌। आमेन।

अहिले सेलेक्ट गरिएको:

यहूदा 1: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्