यशैया 9

9
हाम्रा निम्ति जन्मेको एक जना बालक
1तापनि सङ्कष्‍ट परेकाहरूका निम्‍ति नैराश्‍य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्‍तालीको देशलाई नम्र तुल्‍याउनुभयो, तर भविष्‍यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्‍यजातिहरूको गालीललाई सम्‍मानित तुल्‍याउनुहुनेछ। #मत्ती ४:१५
2अन्‍धकारमा हिँड्‌ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युको छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ। #मत्ती ४:१६; लूक १:७९ 3तपाईंले त्‍यस जातिको वृद्धि गराउनुभएको छ र तपाईंले तिनीहरूका आनन्‍द बढ़ाउनुभएको छ। कटनीको बेलामा मानिसहरू रमाएझैँ तिनीहरू तपाईंको सामुन्‍ने रमाउनेछन्, र लूटका माल बाँड्‌दा मानिसहरू खुशी भएझैँ तिनीहरू खुशी हुन्‍छन्‌। 4किनकि तपाईंले त्‍यसको बोझाको जुवा र त्‍यसको काँधको नोल, र त्‍यसलाई अत्‍याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ। 5लड़ाइँमा प्रयोग गरेको हरेक सिपाहीका जुत्ता र रगतमा मुछिएको हरेक पोशाक जलाउनलाई छुट्याइएको हुनेछ र आगोको निम्‍ति इन्‍धन हुनेछ।
6किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ। 7उहाँको शासन र शान्‍तिका वृद्धिको अन्‍त कहिल्‍यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्‍यमाथि त्‍यसलाई न्‍याय र धार्मिकताको साथ स्‍थापित गरी स्‍थिर गराउन, त्‍यस बेलादेखि सदाको निम्‍ति उहाँले राज्‍य गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमप्रभुको जोशले यो पूरा गर्नेछ। #लूक १:३२-३३
इस्राएलमाथि परमप्रभुको क्रोध
8परमप्रभुले याकूबको विरुद्धमा यो सन्‍देश पठाउनुभएको छ, र त्‍यो इस्राएलमाथि पर्नेछ। 9सारा मानिसहरू, अर्थात्‌ एफ्राइम र सामरियाका मानिसहरूले त्‍यो जान्‍नेछन्, जसले अहङ्कार र हृदयको घमण्‍डसित भन्‍दछन्, 10“इँटहरू त ढलेका छन्, तर हामीहरू कुँदेका ढुङ्गाहरूले फेरि बनाउनेछौं। अञ्‍जीरका रूखहरू काटी ढालिएका छन्, तर हामी तिनका सट्टामा देवदारु लगाउनेछौं।” 11तर परमप्रभुले तिनीहरूका विरुद्धमा रसीनका शत्रुहरूलाई बलिया तुल्‍याउनुभएको छ, र तिनीहरूका शत्रुहरूलाई सुर्‍याउनुभएको छ। 12अरामीहरूले पूर्वतिर र पलिश्‍तीहरूले पश्‍चिमतिरबाट मुख बाएर इस्राएललाई निलेका छन्‌।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
13तर मानिसहरू तिनीहरूलाई हिर्काउने व्‍यक्तितर्फ फर्केका छैनन्, न त तिनीहरूले सर्वशक्तिमान्‌ परमप्रभुलाई खोजेका छन्‌। 14यसैकारण परमप्रभुले इस्राएलबाट शिर र पुच्‍छर, खजूरका हाँगा र नर्कट एकै दिनमा काट्‌नुहुनेछ। 15वृद्ध र आदरणीय मानिसहरू शिर हुन्, तथा झूटा कुरा सिकाउने अगमवक्ताहरूचाहिँ पुच्‍छर हुन्‌। 16यस प्रजालाई अगुवाइ गर्नेहरूले तिनीहरूलाई भ्रममा पार्छन्‌। तिनीहरूबाट डोर्‍याइएकाहरूचाहिँ बरालिएका छन्‌। 17यसकारण तिनीहरूका जवान मानिसहरूदेखि परमप्रभु प्रसन्‍न हुनुहुन्‍न, न त उहाँले तिनीहरूका टुहुरा-टुहुरी र विधवालाई टिठ्याउनुहुनेछ। किनकि हरेक व्‍यक्ति ईश्‍वरहीन र दुष्‍ट छ। हरेकको मुखबाट खराब कुरा निस्‍कन्‍छ।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
18निश्‍चय नै आगोझैँ खराबी बल्‍छ, त्‍यसले सिउँड़ी र काँढ़ाहरू भस्‍म पार्छ। त्‍यसले वनका झाड़ीहरूलाई जलाउँछ, र ती धूवाँको बाक्‍लो मुस्‍लो भएर माथितिर बटारिँदैजान्‍छन्‌। 19सर्वशक्तिमान्‌ परमप्रभुको क्रोधले देश भस्‍म हुनेछ। मानिसहरू पनि आगोको निम्‍ति इन्‍धन हुनेछन्‌। कुनै मानिसले आफ्‍नो भाइलाई पनि छोड्‌नेछैन। 20दाहिनेपट्टि तिनीहरूले निल्‍नेछन्‌ र पनि भोकै हुनेछन्‌। तिनीहरूले देब्रेपट्टि खानेछन्, तरै पनि सन्‍तुष्‍ट हुनेछैनन्‌। हरेकले आफ्‍नै सन्‍तानको मासु खानेछ, 21मनश्‍शेले एफ्राइमलाई र एफ्राइमले मनश्‍शेलाई खानेछ, र तिनीहरू दुवै यहूदाको विरुद्धमा हुनेछन्‌।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।

अहिले सेलेक्ट गरिएको:

यशैया 9: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्