यशैया 6:1-6

यशैया 6:1-6 NNRV

उज्‍जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्‍लो र उच्‍च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्‍त्रको छेउले मन्‍दिरै ढाकेको थियो। उहाँको मास्‍तिर सराफहरू खड़ा थिए— प्रत्‍येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्‍नो मुख ढाकेका थिए, दुई वटाले आफ्‍ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्‌दैथिए। अनि एउटाले अर्कालाई यसो भन्‍दै तिनीहरू पुकार्दैथिए: “सर्वशक्तिमान्‌ परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्‍छ, सारा पृथ्‍वी उहाँको महिमाले भरिपूर्ण छ।” तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्‍लिए, र मन्‍दिर धूवाँले भरियो। मैले भनें, “धिक्‍कार! म नष्‍ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्‍तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान्‌ परमप्रभु महाराजाधिराजलाई देखेको छु।” तब चिम्‍टाले वेदीबाट आगोको भुङ्‌ग्रो हातमा लिएर सराफहरूमध्‍ये एक जना मकहाँ उड़ेर आए।