प्रेरित 20:6-12
प्रेरित 20:6-12 NNRV
तब हामीचाहिँ अखमिरी रोटीको चाड़का दिनहरूपछि फिलिप्पीबाट जहाजमा यात्रा गरी पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं, र त्यहाँ सात दिन रह्यौं। हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्नलाई जम्मा भयौं, तब पावलले चाहिँ भोलिपल्ट जाने इच्छा गरेका हुनाले, तिनीहरूसँग मध्यरातसम्म बातचीत गरिरहे। हामी भेला भएको माथिल्लो तलाको कोठामा धेरै बत्तीहरू थिए। युटिकस नाउँ भएको एक जना युवक झ्यालमा बसेको थियो। पावलले धेरै बेरसम्म कुरा गरिरहँदा त्यो गहिरो निद्रामा पर्यो र निद्राको वशमा परी त्यो तेस्रो तलाबाट खस्यो र त्यसलाई तिनीहरूले मृत अवस्थामा उठाए। तब पावल तल ओर्ले, र घोप्टो परी त्यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्यो जीवितै छ।” तब तिनी माथि उक्ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्यालो नभइञ्जेल धेरै बेर बातचीत गरिबसे। त्यसपछि बिदा भए। अनि तिनीहरूले त्यस युवकलाई जीवित अवस्थामै लगे र धेरै सान्त्वना पाए।

