प्रेरित 2:14-24
प्रेरित 2:14-24 NNRV
तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्मै बासिन्दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्नुहोस्। किनभने तपाईंहरूले ठान्नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ। तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो, ‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्मा खन्याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन्। माथि आकाशमा म अचम्मका काम र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु, अर्थात् रगत, आगो, र धूवाँको मुस्लो। परमप्रभुको महान् र गौरवमय दिन आउन अगाडि सूर्य अन्धकारमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्। अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।’ “इस्राएलका मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका येशू यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईंहरूका सामुन्ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो। परमेश्वरले ठहराउनुभएको निश्चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। उहाँलाई परमेश्वरले मृत्युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो

